काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे आज बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि नेताहरूबीच सहमति जुट्न नसकेको महासचिव घनश्याम भुसालले जानकरी दिए ।
बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको र निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको महासचिव भुसालले जानकारी दिए । उनका अनुसार बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव राखेका थिए ।
‘जेएन कमरेडले पार्टीको समग्र समीक्षा गर्नुपर्ने र असन्तुष्टि हटाएर मात्र अघि बढ्न सकिने आशयको लिखित प्रस्ताव राख्नुभएको छ’, भुसालले भने ।
अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेका छन् ।














