
काठमाडौं । जिल्ला कारागार सप्तरीमा एक महिला कैदी बन्दी बलात्कृत भएकी छन् । कर्तव्य, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा १६ साउन ०७६ देखि जन्मकैद भुक्तान गरिरहेकी ती महिलालाई कारागारकै कर्मचारीले बलात्कार गरेको खुलेको हो ।
आफूलाई सिराहा राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवले २०८० माघ ५ गते विशेष काम छ भन्दै कारागार परिसरभित्रको बिजुली घरमा लगेर बलात्कार गरेको पीडित महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी छन् ।
सप्तरीस्थित कारागार कार्यालयमा १७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका चन्दनले आफ्नो कर्तुत बाहिरिने डरले ती महिलालाई ८ भदौमा कारागार प्रशासनको सहयोगमा उदयपुर सरुवा गराएका थिए । त्यसअघि पनि उनले ती महिलालाई सप्तरी र सिराहा सरुवा गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले सप्तरीबाट सरुवा भएर आएकी महिला कैदी बन्दीमाथि बलात्कार भएको भन्दै जाहेरी परेको र जाहेरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको बताए ।
जाहेरीमा उल्लेख भएअनुसार वारदात स्थल सप्तरी कारागार कार्यालय भएकाले अनुसन्धानका लागि प्राप्त जाहेरी जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको उनको भनाई छ ।
गत भदौ २१ मा परेको जाहेरी जिप्रका उदयपुरले ३० भदौमै जिप्रका सप्तरी पठाएको हो । तर, जिप्रका सप्तरीमा अहिलेसम्म पनि जाहेरी दर्ता भएको छैन ।
जाहेरीअनुसार विजुलीघरको कोठाभित्र प्रवेश गरेपछि चन्दनले अनुहारमा एसिड खन्याइदिने धम्की दिँदै बलात्कार गरेका थिए । डर, त्रास, धम्कीपछि चुपचाप बसेकी ती महिलालाई चन्दनले हात बाँधेर बलात्कार गरेको पीडितको भनाइ छ ।
सप्तरी कारागार कार्यालय प्रमुख प्रवीणकुमार अधिकारीले चन्दनकै अनुरोधमा ती महिलालाई सिराहा र उदयपुर सरुवा गरिएको बताए । यद्यपि जाहेरीमा भनिएजस्तो नभएको उनको भनाई छ । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जाहेरीबारे जानकारी नभएको बताए ।














