Logo
Logo

बीर नेम्वाङ : मुन्धुमी मूलुकको ज्यूँदो इतिहास


42.1k
Shares

फक्ताङलुङ हिमाल उसैगरी अविचल उभिएको छ, युगौँदेखि । याक्थुङ (लिम्बू)हरुको आस्थाको यो यस्तो धरोहर हो, जसले मुन्धुममा बर्णित घटना वा स्थानको दिशा निर्धारण गर्छ । फक्ताङलुङदेखि तल, फक्ताङलुङदेखि माथि, फक्ताङलुङदेखि दायाँ तथा फक्ताङलुङदेखि बायाँ भनेर मुन्धुममा घटना वा स्थानको वर्णन गरिएको पाइन्छ ।

श्रुतिशास्त्रमा आधारित मुन्धुम लिम्बूहरुको मूल दार्शनिक आधार हो । ‘मुन्धुम’ शब्दकोे ब्यूत्पतिबारे मुन्धुमविद् वैरागी काइँला बाहेक कसैले पनि यसको निरुपण गर्न सकेका छैनन् । उनले मुन्धुम शब्दलाई फुटाएर यसको अर्थ पर्गेल्ने प्रयास गरेका छन् । यस लेखकसँगको संवादमा काइँलाले उल्लेख गरेअनुसार ‘मुन् थुम्’ शब्दको अप्रभंस नै मुन्धुम् हो ।

लिम्बू भाषामा मुन् (मुम्–मा) को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने अर्थ लाग्छ । यस्तै थुम् (थुम्–मा)को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरुको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठीन किसिमबाट अगाडी बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ ।

त्यहीँ भएर आजसम्म लिम्बूहरु स्वाभिमानी र दृढ निश्चयी भएर रस्ती रसाउँदै बस्ती बसाउँदै आफ्नो थातथलोमा आवाद हुन सकेका छन् । इतिहासतिर फर्केर हेर्ने हो भने आफ्नो स्वायत्तताको अन्त्यपछि लिम्बूहरुले सन्धि र संघर्षको गतिलाई इम्बिरी यङधङ (तमोर नदी)जस्तै गतिमान बनाएका छन् ।

मुन्धुममा वर्णित सोधुङ्गेन लेप्मुहाङको गाउँ मुरिङ्ला खारिङ्ला साङ्गो, साङ्गो ओढार हालः ताप्लेजुङको साविक लेलेप गाविस, हालः फक्ताङलुङ गाउँ पालिकामा पर्छ ।

साविकको नाङ्खोल्याङ, हाल पाथिभरा याङ्वरकको भूगोलमा नामसामी र केसामी खेलेका थिए । पिप्पुधाप सावायेत्हाङहरुले सिकार खेल्ने गाउँ जङ्गल (हालः फक्ताङलुङ गाउँपालिका) पर्छ ।

युखावो (इखावो)मा सुसुवेन लालावेनले मृत्यूवरण गरेको कथा मुन्धुममा आउँछ । मुजिङ्ना खेयोङ्नाको छोरा सुसुवेन लालावेन जन्मिएको स्थल, सिकार गर्ने स्थल धनुकाँड साँधेको खोङसालुङजङ फ्यात्लुङ साविकको ताप्पेथोक गाविस, हालः फक्ताङलुङ गाउँपालिकामा अवस्थित छ ।

युमाले तान बुनेको ठाउँहरु, उनी विचरण गरेका ठाउँहरुलाई लिम्बूहरुले आफ्नो पवित्र तीर्थ मान्दै आएका छन् ।
राज्यद्वारा राजनीतिक र सांस्कृतिक रुपमा अतिक्रमणमा परेको मुन्धुमी मूलुकको पहिचान र अस्तित्वको रक्षार्थ लिम्बूहरु प्रतिरोधमा उत्रदै आएको पनि युगौँ भइसक्यो । यहीँ चेतनाले ब्यूँझेका ब्यक्तित्त्व बीर नेम्वाङको साहस र सङ्घर्षलाई यथोचित रुपमा उल्लेख गर्न जरुरी देखिन्छ ।

भाषा र लिपी जोगाउन खोज्दा

ओँठमाथि जुँगाको रेखी आउँदै थियो । तर, त्यो कलिलो उमेरको मष्तिष्कमा भने परिपक्व चेतनाको विजारोपण भइसकेको रहेछ । बहुदल र निर्दल छान्ने चुनावमा उनी बहुदलको पक्षमा जोडतोडले होमिएका थिए, पाँचथर जिल्लाको मोर्चामा । सत्रौँ शताब्दिमा त्येअङ्सी सिरिजङ्गाले पुनरुत्थान गरेको लिपी छँदै थियो, तर प्रयोगहीन अवस्थामा ।

मातृभाषा लोप हुँदै गइरहेको चिन्ताले उसै सताउने भइगयो । मौलिक पहिचान र अस्तित्त्व दयनीय बन्दै गइरहेकोमा बीर नेम्वाङलाई लाग्यो, भाषा र लिपी त जोगाउनै पर्छ । त्यसैले उनले आफ्ना साथीहरुसँग मिलेर पाँचथर याम्बोङमा २०३२ चैत २४ गते ‘फक्ताङ्लुङ निसामहिम’ स्थापना गरी लिम्बू लिपि, भाषाको पठनपाठन सुरु गरे । संस्थापन पक्षबाट ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ नारा लाग्ने त्यो प्रतिकुल समयमा बीर नेम्वाङको त्यो कार्य नितान्त दुस्साहसपूर्ण थियो ।

आफ्नो भाषा र लिपीलाई प्रेम गर्दा २०३४ जेठ ५ मा उनीसहित १८ जनालाई पक्राउ गरी यातना दिइयो । कस्तो विडम्बना, मातृभाषा र लिपी सिक्न र सिकाउन पनि नपाइने ! यतिखेर त्यसबेलाको आफ्नो दुस्साहस सम्झेर गम खान्छन् बीर नेम्वाङ । उनलाई गौरव छ, त्यो सङ्घर्षपूर्ण अतितप्रति ।

कलिलो उमेरमा जेलको यात्रा

जतिसुकै ठूलो ढुङ्गाले थिचोस्, तर दुबोले आकास ताक्न छाड्दैन । भाषा र लिपी अध्यापन गर्ने आफूहरुको योजनालाई तत्कालिन प्रशासनले विथोलिदिए पनि उनीहरुले हार मानेनन्, झन ज्याद्रो बनेर पो निस्के ।

अब भाषा र लिपीतिर मात्रै उनीहरुले आफ्नो सक्रियता देखाएनन्, २०३६ जेठ २२ गते त उनले “लिम्बुवानका पददलित जनताप्रति मेरो आह्वान” शीर्षकमा पर्चा नै छापेर छ्याप्छ्याप्ती बनाएपछि तत्कालिन ब्यवस्थाको रौँ ठाडो भयो । तत्कालिन ब्यवस्थाको परिभाषाअनुसार पर्चा प्रकाशनले शान्ति सुरक्षा खलबलियो ।

यहीँ पर्चा प्रकाशनले उनी र उनका दुई साथीलाई जेलयात्रा गरायो । २०३६ साउन ४ उनीसहित इलाम, शिरिषेका आशहाङ मादेन र ताप्लेजुङ, दोखुका गङ्गाराम लिङ्खिम जेल परे भने कडा वारेन्ट जारी गरिएका तेह्रथुम, लिसिबुङ ब्रह्मलाल सोधुङ (ओमकुमार) भूमिगत हुन बाध्य भए । २०३८ वैशाख १ गते राजाबाट जनमत सङ्ग्रहकालिन राजबन्दीहरुलाई आममाफी हुँदा उनीहरुको पनि रिहाई भयो ।

यहिँ प्रकरणमा ताप्लेजुङ, हाङपाङका इश्वर आङबुहाङ निर्वासित भएका थिए भने ताप्लेजुङ, फुङलिङका पृथ्वीबहादुर मादेन र पाँचथर पौवा सारतापकी उर्मिला नेम्बाङ तारिख धाउन बाध्य भए ।

साइनोमा बीर नेम्वाङकी भतिजी उर्मिला नेम्बाङ गाउँमा पढालेखा नारी थिइन् । उनी लिम्बू लिपि तथा भाषा पठनपाठन गराउने काममा बीर नेम्वाङलाई सघाउँथिन् । उनका अन्तरे दाजु राजेन्द्र परदेशी त्यसबेला कट्टर कम्युनिष्ट थिए । उनी राम्रा कवि पनि हुन् ।

बीर नेम्वाङहरु पक्राउ पर्नेबित्तिकै ईश्वर आङ्बुहाङ र ब्रह्मलालले आआफ्नो तर्फबाट उर्मिलालाई हुलाकमार्फत् चिठी पठाई यो खबर दिएका रहेछन् । प्रहरीले यी दुवै चिठी बरामद गरेछ । यस प्रकरणमा उर्मिला नेम्बाङको नाममा मात्र होइन, इश्वर आङ्बुहाङ र ब्रह्मलाल सोधुङको नाममा पनि वारेन्ट जारी गरिएको थियोे ।

त्यसबेला भाषा, लिपीको पठनपाठनमा सक्रिय हुँदा ब्यवस्थाविरोधी आरोप लागेकी उर्मिला पञ्चायतकालमै बामपन्थी राजनीतितिर सक्रिय भइन् । उनै उर्मिला नेम्वाङ अहिले उर्मिला थेवेको नाममा राजनीतिमा सक्रिय छिन् । हालः उनी एमालेकातर्फबाट संघीय साँसद छिन् ।

त्यसबेला बीर नेम्वाङ र उनका दुई साथी पक्राउ परेको घटना पनि रोचक छ । उनी आफूले भर्खरै निकालेको पर्चा लिएर ताप्लेजुङ, फुङलिङ पुगेका थिए । त्यहाँ लिम्बू लेखक गङ्गाराम लिङ्खिमका साथ पृथ्वीबहादुर मादेनको घरमा पुगेका थिए । त्यहाँ प्रहरी हवल्दार जीतबहादुर राई पनि बसिरहेका रहेछन् । उनीसित परिचय भयो । उनी “म पनि पढ्छु” भन्दै पर्चा लिएर हिडिहाले । त्यसपछि उनी गङ्गाराम लिङ्खिमसहित पक्राउ परे । गङ्गाराम त्यसबेला सरकारी कर्मचारी थिए ।

यसरी जेलनेल, यातना र मुद्दामामिलाले लिम्बू भाषा र लिपीको पठनपाठन सञ्चालन गर्ने त्यो समयको दुस्साहसपूर्ण कार्य रोकिएन । २०४० सालमा पाँचथर, ताप्लेजुङ र सुनसरी जिल्लामा लिम्बू लिपि, भाषा पठनपाठन गराउने क्रममा ताप्लेजुङ, तिरिङ्गेका १०÷१२ जना युवायुवती केही समय भूमिगत हुनु परेको थियो । यस्तै पाँचथर, याम्बोङका तारादेवी नेम्बाङ, इन्द्रकुमार नेम्बाङ, सूर्यकुमारी नेम्बाङसहित बीर नेम्वाङ पनि भूमिगत हुन बाध्य भए ।

लिम्बू भाषा र लिपी पढाउँदा जेलयात्रा गरेको बेला नेम्वाङ केवल १८ वर्षका थिए । यहीँ मार्मिक अनुभूतिलाई समेटेर उनले लेखेको लेख ‘भाषिक समस्या अत्यन्तै जटील’ शीर्षकमा ‘कोङ्पी’को वर्ष २ अङ्क ५ (घल राई (सम्पा.), कात्तिक २०३८ः११–१३) मा पढ्न पाइन्छ ।

आफूले लेखेको पुस्तिका ‘लिम्बूवानको रामकहानी’ (सन् १९८७ः२१) मा उनले उल्लेख गरेअनुसार २०३९ सालमा पाँचथर जिल्लाका भाषाप्रेमी लिम्बू युवायुवतिहरुले स्वयम्सेवी भई लिम्बू लिपी र भाषाको रात्री पाठशाला चलाउँदै थिए । तर पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी प्रशासनको सहयोग लिएर ती भाषाप्रेमी स्वयम्सेवकहरुमाथि दमनमा उत्रिए । उनले २०३९ माघ ९ गते ‘क्षेत्रीय भाषाको पाठशाला खोल्न अनुमति दिने नीति नभएकोण्द्दज्ञड भन्दै लिम्बू पाठशालाहरु बन्द गराउँदै स्वयम्सेवीहरुमाथि आतङ्ककारीको बिल्ला भिराइदिए ।

नेम्वाङले पुस्तिकामा तत्कालिन पाँचथरका जिशिअको नाम रामस्वरुप सिंह लेखेका छन् । तर उनको थर सिंह नभई सिन्हा हो । उनै रामस्वरुप सिन्हा पछि शिक्षा सचिव भएर सेवानिवृत्त भए ।

यसरी लिम्बू भाषा र लिपी जोगाउन तथा त्यसलाई पुस्ताहस्तान्तरण गर्न मरिमेटेर लागेका उनले एउटा सङ्गठन निर्माण नगरिनहुने निष्कर्ष निकाले । परिणामस्वरुप पाँचथरको शिवाखोलामा २०४३ पुस ५ गते लिम्बुवान मुक्ति मोर्चाको जन्म भयो । मोर्चाको केन्द्रीय अध्यक्षमा उनी स्वयम् रहे, दुई उपाध्यक्षमा मानबहादुर योङ्हाङ र नन्दबहादुर सुहाङ, सचिव महमलाल तुम्ब्रोक, दुई उपसचिव चतुरहाङ तुम्ब्रोक र कपिलमाया तुम्ब्रोक अनि कोषाध्यक्षमा कोषाध्यक्ष भरतमान तुम्ब्रोक चयन भए ।

कविराज नेम्बाङ, बुद्धबहादुर थेगिम, दुर्गाबहादुर योङ्हाङ, नरहाङ नेम्बाङ, शिवहाङ नेम्बाङ, हेमकुमार तुम्ब्रोक, पन्चकुमारी तुम्ब्रोक, लीलामाया तुम्ब्रोक, नरेन्द्र नेम्बाङ, इन्द्रकुमारी तुम्ब्रोक, भिमश्वर तुम्ब्रोक, वीरेन्द्रकुमार तुम्ब्रोक, गोविन्द तुम्ब्रोक र चन्द्रकला तुम्ब्रोक लिम्बूवान मुक्ति मोर्चाका संस्थापक सदस्यहरु हुन् ।

लिम्बूवान मुक्ति मोर्चा गठन भएको र यसले २०४५ माघ ५ गते दार्जिलिङबाट घोषणापत्र जारी गरेको खबर डढेलोसरि फैलियो । देश विदेशका सञ्चारमाध्यमले यसबारे खबर प्रवाह गरेपछि यता पञ्चायती सरकारको मुटु थर्कियो । लगात्तै गृह मन्त्रालयले रेडियो नेपालबाट गाउँघरमा कोही अपरिचित व्यक्ति देखिए नजिकको प्रहरी चौकीमा दाखिला र जानकारी गराउनु भन्ने सूचना हप्तौंसम्म प्रसारण ग¥यो । मोर्चाले संस्थापन पक्षलाई जे जे आरोप लगाएको थियो, त्यसको खण्डन गर्न पञ्चायती सरकारले “टाइम्स अफ इन्डिया”को सहयोग लिएको थियो ।

चुम्लुङ स्थापनाको पृष्ठभूमी

बीर नेम्वाङ स्वदेशमा टिकिखाने अवस्था नभएपछि कहिले दार्जिलिङ कहिले सिक्किम ओहोरदोहोर गरिरहेका थिए भूमिगत रुपमा । खासगरी पाँचथरमा उनको गतिविधिलाई लिएर ठूलै तहल्का मच्चिरहेको थियो ।

त्यसैबेला ‘देशान्तर’ साप्ताहिकका तत्कालिन संवाददाता जयप्रकाश आनन्द स्थलगत रिपोर्टिङका लागि पाँचथर पुगे ।
लिम्बूवान मुक्ति मोर्चा, किरात धर्म तथा साहित्य उत्थान संघ तथा पद्मसुन्दर लावति पाँचथर जिल्लालाई आधार बनाएर राजनीतिक तथा धार्मिक रुपमा सक्रिय थिए ।

त्यतिखेरै काँग्रेसका कार्यकर्ता (पछि नेता तथा मन्त्री) जयप्रकाश आनन्द पाँचथर पुगेका थिए । काँग्रेसी नेता (पछि मधेशी जनअधिकार फोरमका नेता, हालः भ्रष्टाचारको अभियोग प्रमाणित भई जेल सजायसमेत भुक्तान भइसकेपछि सक्रिय राजनीतिबाट पलायन) जयप्रकाश गुप्ता त्यो बेला जयप्रकाश आनन्दका नाममा पत्रकारितामा सक्रिय थिए । उनी स्थलगत रिपोर्टिङका लागि २०४६ सालको मध्यवर्षादमा पाँचथर पुगेका थिए ।

त्यहाँ रिपोर्टिङ गरी उनले ‘देशान्तर’ साप्ताहिकमा २०४६ साल साउन १ र ८ गते श्रृंखलावद्ध रुपमा दुईवटा रिपोर्ट छपाए । उनले साउन १ गतेको अङ्क (पृ. ३)मा ‘लिम्बुआन मुक्तिमोर्चा गुपचुप तर गम्भीर रुपले शिर उठाउँदैछ’ शीर्षकमा आफ्नो रिपोर्ट छापे । यसमा उनले कथित मगुराली र लिम्बूवान सङ्गठनको मातृसंस्था किरात धर्म तथा साहित्य उत्थान संघ धार्मिक क्रियाकलापमा संलग्न रहे पनि यसको पृष्ठभूमिमा मगुराली र लिम्बुवान मौलाउँदै गरेको टिप्पणी गरेका छन् ।

पञ्चायतकालमा मगर, गुरुङ, राई र लिम्बूलाई छोटकरी रुपमा चिन्न मगुराली शब्द प्रचलनमा ल्याइएको थियो । जयप्रकाश आनन्दले नेपाल र भारतबीच तनाव चर्किरहेको त्यो बेला पाँचथरमा मौलाएको त्यो शक्तिले सोझै लिम्बूवान राज्यका कुरा गर्न थालेको र यसको प्रचार प्रसार निक्कै बढेको छ तर्क गरेका छन् । उनी रिपोर्टिङका क्रममा सुरक्षा स्रोतसम्म पनि पुगेको देखिन्छ ।

सुरक्षा स्रोतले माथि उल्लेखित संस्थाका गतिविधिहरु नियन्त्रण गर्न त खोजेको तर आफूहरुले काँग्रेसको सहयोग लिन नमिल्ने र पञ्चहरु आफूहरुलाई कुनै सहयोग गर्न तयार नरहेको भनी सुरक्षा अधिकारीहरुले जयप्रकाश आनन्दसँग विवसता पोखेको झल्को पनि यो रिपोर्टिङमा आउँछ ।

पूर्वी नेपालको सिमान्त पर्वतीय जिल्लाहरुमध्ये पाँचथर रणनीतिक महत्वको भएको यस रिपोर्टिङमा उल्लेख छ । पाँचथरदेखि नजिकैको दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनका आन्दोलनकारीसँग लिम्बू संस्कृति र किरात परम्पराको नाममा मितेरी पुल बन्दै गरेको र यसैबाट राष्ट्रिय अखण्डता विखण्डित हुँदै गएको भन्नेसम्मको धारणा राख्न चुकेका छैनन, जयप्रकाश आनन्द ।

दार्जिलिङमा अत्यन्तै प्रतिकुलताबीच प्राप्त भएको सफलता र युवाहरुले आर्जन गरेको अर्धसैनिक तालिम र अनुभवलाई कथित लिम्बुवान मुक्तिमोेर्चाले आफ्नो स्वार्थका लागि ऊर्जाको रुपमा नेपालभित्र प्रयोग गर्ने रणनीति बनाएको छ भन्ने आफ्नो मनमा गढेको कुरा राख्दै उनले लेखेका छन्, ‘यी सुरम्य डाँडाहरुको गर्भमा जातीय आतङ्क र विखण्डनको राष्ट्रघाती वीउ अङ्कुरित हुँदैछ ।’

यसरी सञ्चारमाध्यमबाट लिम्बूहरुमाथि साम्प्रदायिकताको आरोपहरु आउन थालेपछि काठमाडौंमा रहेको बौद्धिक युवा लिम्बूहरुले त्यसको खण्डन गर्न आवश्यक ठाने । उनीहरुले ‘साम्प्रदायिकताको विरोध गरौं, जातीय उत्थानका लागि एकजुट होऔं’ शीर्षक दिइएको यो पर्चा ‘उपत्यकामा अध्ययनरत विद्यार्थी वर्ग तथा विविध पेशामा संलग्न किरात लिम्बूहरु’को नाममा वितरण गरियो ।

पर्चामा जयप्रकाश आनन्दको लेख (रिपोर्टिङ)ले जातीय समस्यालाई हेर्ने, बुझ्ने र समाधान गर्ने दृष्टिकोण र त्यसमा भएको कथित ‘तथ्यपूर्ण’ कुराले लिम्बू जातिप्रति नै अविश्वास र शंकाको दृष्टिकोण उत्पन्न भएको धारणा राखिएको छ । यस रिपोर्टिङले त्यहीँ अविश्वास र शंकाको घेराबाट लिम्बूलाई अन्य जनजातिका नेपालीले हेर्ने सम्भावनाका निम्ति आधार बन्न सक्ने भएको हुनाले आफूहरुले किराती लिम्बूहरुको तर्फबाट वास्तविक कुरा राख्न आवश्यक भएको पर्चामा उल्लेख छ ।

यहीँ पर्चा तयार पार्ने नन्द कन्दङ्वा, रकम चेम्जोङलगायतका तत्कालिन युवा विद्यार्थीहरुको सक्रियतामा २०४६ साल भदौ १७ गते किरात याक्थुङ चुम्लुङ गठन भएको हो ।

यसरी पञ्चायतकालमा सत्ताको मुटु हल्लाउने बीर नेम्वाङ एक ज्यूँदा इतिहास हुन् । मरेपछि मात्रै गाथा गाइने देशमा उनले उसबेलै उठाएको मुद्दा उचाईमा पुगेको छ तर उनी भने ओझेलमा छन् । ज्यूँदो मानिसको इतिहास लेख्ने परम्परा नभएको यो मूलुकमा कवि हरिभक्त कटुवालको इतिहाससम्बन्धी एउटा कविताको टुक्रा याद आउँछः
बा, म स्कूल जान्नँ
त्यहाँ मरेको मान्छेको इतिहास पढाइन्छ…।

प्रतिक्रिया दिनुहोस्