Logo
Logo

प्रदेश नं २ मा कोरोना संक्रमित संख्या १७२ पुग्यो


- दृष्टि न्युज/संवाददाता


जनकपुर, ११ जेठ । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना संक्रमित थपिएपछि प्रदेश नं २ मा संक्रमितको संख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए ।
बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट संक्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए । उनीहरुलाई स्थानीय कंगालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो । करैयामाई गाउँपालिका–५की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमान्मा कोरोना संक्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो । परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना संक्रमण देखिएको हो ।
सर्लाहीका १३ मध्ये १२ जना संक्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ । सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना संक्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ ।
यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ संक्रमितलाई मलंगवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको सचिव डा घिमिरेले बताए । सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए । उनको गजेन्द्रनारायणसिँह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेशमा संक्रमितको संख्या १७२ पुगेको छ ।
यसैबीच प्रदेशमा स्वाबको नमूना संकलन कार्यलाई तीव्र पारिएको छ । शनिबार ४०९ जनाको समेत गरी अहिलेसम्म यस प्रदेशमा सात हजार ९४५ जनाको स्वाबको नमूना संकलन गरिएको छ । सोमध्ये पाँच हजार ५४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार २३४ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशको २४८ वटा क्वारेन्टाइनमा आठ हजार ११९, होम क्वारेन्टाइनमा पाँच हजार २२० र आइसोलेशनमा १७० जना बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्