
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन भोलि (सोमबार)देखि पोखरामा सुरू हुँदैछ ।
दुई दिन चल्ने अधिवेशनका लागि अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू पोखरा पुगिसकेका छन । अधिवेशनमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
अधिवेशनमा नेसपाले तयार पारेको विधान मस्यौदा र घोषणा पत्र मस्यौदामाथि समूहगत छलफल गरेर सुझाव समेट्दै पारित गर्ने तयारी रहेको नेसपा नेता रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार अधिवेशनमा केन्द्रीय सदस्यहरू, संघीय परिषद सदस्यहरू, विज्ञ तथा सल्लाहकारका साथै जिल्ला संयोजकलगायत करिब पाँच सय जना प्रतिनिधि सहभागी हुनेछन् ।
जिल्ला संयोजकसहित कम्तिमा एक जना महिलासहित हरेक जिल्लाबाट तीन जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने नेसपाले जनाएको छ । साथै जनवर्गीय संगठनबाट संयोजकसहित प्रतिनिधि सहभागी हुनेछन् । विधान अधिवेशनमा पार्टीको नाम, झन्डा परिवर्तन गर्ने÷नगर्नेलगायत विभिन्न विषयहरूमाथि पनि छलफल हुनेछ । २०७९ मा जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी पार्टी गठन भएपछि यो पहिलो विधान अधिवेशन हो ।














