Logo
Logo

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
सरकारकाले माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयबारे जानकारी दिएका हुन्।

यी हुन् निर्णयहरू–

१. महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरिएको छ ।

२. विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको छ ।

३. युरोपियन युनियन डेलिगेसन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९,९६,१९९ युरो स्वीकार गर्ने निर्णय गरिएको छ ।

४. पुनर्निर्माणका लागि साउदी कोषसँग ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरिएको छ ।

५. गोरखकाली रबर उद्योग लि.का कर्मचारीलाई अनिवार्य अवकाश दिने र कारखानाको वैकल्पिक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

६. नेपाल औषधी लिमिटेडको महाप्रबन्धक पदबाट डा. रोभस कुसम सुवेदीले दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।

७. नेपाल–भारत वाणिज्य सन्धी २००९ को पुनरावलोकन सम्बन्धी दोस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

८. अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने वस्तुको पैठारीमा प्रतिवन्ध लगाउने निर्णय गरिएको छ ।

९. नुवाकोट जिल्लाको दुप्चेश्वरमा भएको दुर्घटनाका घाइते भएकाहरूको उपचार सरकारी खर्चमा गराउने निर्णय गरिएको छ ।

१०. क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र र गोदामघरहरूलाई प्रदेश स्तरमा रूपान्तरण गरी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

११. नेपाल सरकार र ओमान सरकारबीच कुटनीतिक तथा सरकारी÷विशेष÷सेवा राहदानी बाहकहरूलाई एक अर्को मुलुकमा भ्रमण गर्दा प्रवेशाज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको छ ।

१२. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा ठैव, ललितपुरका श्री ज्ञानेश्वर कार्कीलाई नियुक्त गरिएको छ ।

१३. रक्सौल–अमलेखगन्ज भूमिगत पेट्रोलियम पाइपलाइन बिच्छाउने कार्यका लागि आवश्यक रुख हटाउन अनुमति दिइएको छ ।

१४. स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानून तर्जुमा प्रक्रिया अगाडी बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

१५. राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहका सरकारी कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ ।

१६. विदेशी नियोगहरूलाई नेपालमा जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ ।

१७. भाषा आयोगको सदस्य पदमा उषा हमाल (सुर्खेत) लाई नियुक्त गरिएको छ ।

१८. विगतको सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपांग भएका, स्थानीयस्तरमा औषधी उपचार हुन नसकी राजधानीको वीर अस्पताल लगायतमा औषधी उपचार गराएका नरवीर दमाई बडाभैरव–१०, दैलेख; मन दर्जी मेल्लमणी–७, कालीकोट; वीरबहादुर परियार तातोपानी–५, जुम्ला लगायत ४४ जनालाई औषधी खर्च, आतेजाते खर्च, होटलबास खर्च र कुरुवा खर्चसमेतका लागि खर्च भएको दश लाख रुपैयाँ गृह मन्त्रालयलाई शोधभर्नाबापत उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्