Logo
Logo

पूर्वी नाकाबाट सयौँ नेपाली भित्रिए


- दृष्टि न्युज/संवाददाता


 

भद्रपुर, २२ जेठ । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताए ।
उनले भने, ‘लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनुभयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।’ उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको उनले बताए । सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पु¥याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उनले बताए ।
उनले भने, ‘एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन । तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौँ ।’
नगरप्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताए । लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उनको भनाइ छ ।
यसैबीच बन्दाबन्दी शुरु हुनुभन्दा हप्ता दिनअघि नै ९३ हजार बढीको पूर्वीनाकामा स्वास्थ्य परीक्षण गर्न सफल झापाको मेचीनगर नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका हो । नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० श्ययाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको छ । यसअघि सो स्वास्थ्यचौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगरप्रमुख विमल आचार्यले बताए ।
उनले दिनादिनु भारतबाट आउने नेपालीको संख्या बढ्दै गएको र कचनकवल गाउँपालिकाबाट लगिएको १७ बिरामीलाई केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले रातभर अस्पतालको गेट बाहिर राखिएको खबरले त्रसित भइ प्राइमरी अस्पतालको तयारीमा लागेको बताए । ‘समस्या बढ्दै जाँदा प्रदेश नं १ को विराटनगर र धरानमा रहेको कोभिड अस्पतालमा भर्ना नपाउने अवस्था आउन सक्छ’, नगरप्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्