पछिल्लो समय नेपालमा सबैभन्दा धेरै रुचाइएको खेल हो– क्रिकेट । नेपालमा धेरैले क्रिकेट बुझ्दैनन् ! तर, क्रिकेट भनेपछि भुतुक्कै हुने युवा फ्यानहरूको जमात पनि ठूलो संख्यामा छ ।
नेपाली राष्ट्रिय टिमको खेल हुँदा त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान सधैँ खचाखच हुन्छ । मैदानमा नअटाउने दर्शक रुखमा चढीचढी खेल हेर्छन् । जसको चर्चा विश्व क्रिकेटमा समेत हुने गरेको छ ।
अहिले टियु मैदानमा नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । जुन नेपाल क्रिकेट संघ (क्यान)को ड्रिम प्रोजेक्ट हो । यसलाई भारतमा हुने फ्रेन्चाइज लिग इन्डियन प्रीमियर लीग (आईपीएल)जस्तै चर्चित ब्रान्ड बनाउने क्यानको महत्त्वाकांक्षी योजना छ ।
एनपीएल नेपाली क्रिकेटको लागि ठूलो खुड्किलो हो । यसले अन्तराष्ट्रमा राष्ट्रको गौरव बढाएको छ ! खेलाडीसँगै क्रिकेट प्रेमीहरूमा एउटा आशा जगाएको छ । एनपीएल नेपाली क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण मोड बन्ने निश्चित छ । वास्तवमा, यो खेलकुदले नेपालको गौरव बढाउने निश्चित छ ।
एनपीएलको रौनक चौतर्फी छ । देश–विदेशमा चर्चा छ । त्यसमाथि विदेशी प्रशिक्षकको प्रशिक्षण र विदेशी खेलाडीहरूलाई आफ्नै मैदानमा देख्न पाउँदा दर्शकमा थप उत्साह थपेको छ । मैदानको रौनक, सामाजिक सञ्जालको चर्चा, खेलाडीको जोस, विदेशी खेलाडीको उपस्थिति, प्रत्यक्ष प्रसारणको विश्वव्यापी पहुँच र पुरस्कारले यसको चर्चा शिखरमा छ ।
टीयू मैदानमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताका खेलहरू विश्वस्तको च्यानल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण भइरहेको छ । यसका साथै एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमा पनि खेलहरू प्रसारण भइरहेको छ ।
नेपाली खेलाडीहरू एउटा राम्रो लिग खेल्न नपाएर क्रिकेट नै छोड्ने स्थितिमा पुगेको अवस्थामा आफ्नै देशमा यति ठूलो लिग खेल्न पाउँदा खेलाडीहरू पनि मख्ख छन् । यसले नेपाली खेलाडीलाई खेलेरै कमाउन सकिन्छ भन्ने एउटा ‘प्लेटफर्म’ बनाइदिएको छ । राष्ट्रलाई खुसी दिने एक मानकमध्ये खेलकुद पनि एक माध्यम हो भन्दा फरक पर्दैन ।
एनपीएलको रन्कोले नेपाली खेलकुद मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि अर्थतन्त्र नै तातेको छ । खेलकुद पर्यटनमा पनि महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ । यो, नेपाली खेलकुद विकास लागि एउटा टर्निङ पोइन्ट हुन सक्छ । घरेलु क्रिकेटको जग बलियो बनाउन भूमिका खेल्नेछ ।
एनपीएल खेल्ने ८ मध्ये ५ टिममा विदेशी प्रशिक्षक छन् । विदेशी खेलाडीहरूको सहभागिताले लिगलाई नयाँ उचाइमा पु¥याएको छ । अनुभवी विदेशी खेलाडीसँग खेल्दा नेपाली राष्ट्रिय खेलाडीसँगै स्थानीय खेलाडीको कन्फिडेन्स बिल्ड हुनुका साथै उनीहरूसँग धेरै कुरा सिक्ने मौका मिलेको छ ।
एनपीएलमा शिखर धवन, मार्टिन गप्टिल, जिमी निशम, स्कट कुगेलेइजन, रेयमन रेइफर, रवि बोपारा, स्टेफन इस्किनाजी र ड्यान डौथवेट लगायतका विश्व स्टार खेलाडी छन् । नेपालमा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय स्तरकै खेलाडी पनि खेलका लागि आउँछन् भन्ने यो गतिलो प्रमाण पनि हो ।
एनपीएल नेपाली क्रिकेटको लागि ठूलो खुड्किलो हो । यसले अन्तराष्ट्रमा राष्ट्रको गौरव बढाएको छ ! खेलाडीसँगै क्रिकेट प्रेमीहरूमा एउटा आशा जगाएको छ । एनपीएल नेपाली क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण मोड बन्ने निश्चित छ । वास्तवमा, यो खेलकुदले नेपालको गौरव बढाउने निश्चित छ ।
यसमा चर्चित कलाकारहरू जोडिनुले पनि रस थप्ने काम गरिरहेको छ । एनपीएलमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राईदेखि नायिका स्वस्तिमा खड्का, गायिका रचना रिमाल र युट्युबर सिसन बानियाँ समेत जोडिएका छन् ।
एनपीएलको अर्को मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा पनि रहेको छ । यो ट्रफीमार्फत विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिने विश्वास गरिएको छ । क्यानका अनुसार उक्त ढुंगा निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट ल्याएका हुन् ।
विदेशी खेलाडीको अनुभवी खेल र शैलीले नेपाली खेलाडीहरूलाई मात्र होइन, नेपाली दर्शकलाई पनि विश्व क्रिकेटको झल्को दिएको छ । टिमलाई सन्तुलन प्रदान गरेको छ । खेलको प्रतिस्पर्धात्मकता मात्र होइन, दर्शकमा पनि रोमाञ्चकता बढाएको छ । नयाँ रणनीति र खेल कौशलको प्रयोगमा सहयोग पु¥याएको छ ।
विदेशी खेलाडी र प्रशिक्षकको आगमनले नेपालमा क्रिकेटको लोकप्रियता मात्रै बढाउँदैन देशको साँस्कृतिक र खेलकुद पर्यटनमा पनि नयाँ आयाम थपेको छ । यसले नेपाली क्रिकेटलाई दीर्घकालीन विकास, आर्थिक प्रगति र खेलप्रतिको जनचासोको दृष्टिले नयाँ उचाइमा पु¥याउने विश्वास छ।
यसलाई सकारात्मक रुपमा विकास गर्ने हो भने यसले नेपाली क्रिकेटलाई ठूूलो फाइदा पुग्नेमा द्विविधा छैन । तर, खेलाडी र दर्शकले त्रिक्रेटलाई माया गरे पनि सरकार र यसको विकासका लागि बनाइएका संस्थाहरूले खासै प्राथमिकता दिन सकेका छैनन् ।
क्रिकेट प्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी छ । क्यानले अब मैदानसहितका पूर्वाधारमा लगानी बढाउने र प्रदेशहरूमा पनि छुट्टै क्रिकेट मैदान निर्माण भए होम एन्ड अवेका आधारमा दर्शकले एनपीएल हेर्न पाउने थिए । जसले क्रिकेटको लोकप्रियतालाई त अझै बढाउँछ ।
नेपालको परिचय अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउने महत्त्वपूर्ण एवं प्रभावकारी माध्यम खेलकुद हो । मैदानमा खेलाडीले गर्ने प्रदर्शन र देखाउने व्यवहारसँग देशको प्रतिष्ठा र चिनारी गाँसिएको हुन्छ । त्यसैले खेलाडीलाई सम्बन्धित राष्ट्रको सद्भावना दूतका रूपमा हेरिएको हुन्छ ।
तर सरकारको खेलकुद क्षेत्रलाई अहिलेसम्म चासो नदिएको यथार्थ हो । अहिले पनि नेपालको खेलकुद विकासमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । नेपाली खेलकुदमा पूर्वाधारको ठूलो समस्या छ । पर्याप्त बजेट अभावमा गतिला मैदान निर्माण हुन सकेका छैनन् । भएका पूर्वाधार मर्मत अभावमा जीर्ण बन्दै गएका छन् ।
कतिसम्म भने पदक जित्दा सरकारले घोषणा गरेको पुरस्कार समेत खेलाडीले पाउन सकेका छैनन् । देशमा भविष्य नदेखेर धेरै खेलाडी विदेश पलायन भइसके । अरू, थुप्रै बिदेसिने लाइनमा छन् । देशको लागि खेलेर केनै हुन्छ भन्ने स्थिति छ । यो तीतो यथार्थ हो । यसको एक मात्र कारण राज्यको आँखा खेलकुदमा नपर्नु नै हो । त्यसैले नेपालको खेल क्षेत्रले अहिलेसम्म व्यावसायिक फड्को मार्न सकेको छैन ।
सरकारले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई कुनै प्रोत्साहनको कार्यक्रम दिन सकेको छैन । क्षमता पहिचान भएका खेलाडीको संरक्षण र ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्नुपर्ने भूमिकामा राज्यका संरचनाहरूले प्रभावकारी काम गर्न सकेको छैन । यसो हुनुमा मुख्य कारण चाहिँ खेलकुदमा चरम राजनीति र नेतृत्वमा पुग्नेहरूमा ज्ञानको अभाव नै हो ।
वास्तवमा लगानी हुनुपर्ने ग्रासरुटबाट खेलकुद विकास गरी खेलाडीको पहिचान र संरक्षणमा हो । सरकारका कार्यक्रमहरू ‘कुनै खेलाडीले पदक जिते नगद पुरस्कार दिने’ भन्दा माथि उठ्न सकेका छैनन् । जसले गर्दा नेपालको खेल क्षेत्र दयनीय बनेको छ । यसप्रति सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सक्नुपर्छ ।