Logo
Logo

कोरोनाका जटिल संक्रमितलाई विशिष्ट अस्पताल निर्देशन


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, २९ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाभाइरसका जटिल प्रकृतिका संक्रमितलाई विशिष्ट अस्पताल पठाउन निर्देशन दिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटमा बिहीबार बसेको बैठकमा उनले कोरोना संक्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत अस्पतालमा पठाउन निर्देशन दिएका हुन् । प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टीकृत अस्पतालका रूपमा तोकेको छ ।
सामान्य संक्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका संक्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गर्न उनले सुझाव दिए । हरेक स्थानीय तहले ५०, जिल्लामा १०० श्यया आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बताउँदै मुख्यमन्त्री शाहीले कोरोना संक्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने जनाएका छन् ।
पिसीआर परीक्षणको दायरा बढाउने जनाउँदै कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिए । सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाइँ सुनिश्चित हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्