धनगढी । धनगढी । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर नेता-कार्यकर्ताले स्वागत गरेका छन् । कार्यकर्ताले नेता कोइरालालाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको मालाले स्वागत गरेका हुन् ।

नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरेका थिए । १५औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएको थियो ।
स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद सुदूरपश्चिमले के भन्छ , १५औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरङ्ग पैदा गराएको छ । एक स्थानीय कार्यकर्ताका अनुसार यस पटक पार्टी सभापति शेरबहादुर देउवा आउँदाभन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए ।
पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्क दिक्क भएका सुदूरपश्चिम काँग्रेसी नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताएका छन् ।
दिउँसो धनगढीमै नौ ओटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेका जनाइएको छ ।