Logo
Logo

कर्णालीमा भारतबाट ४१ हजार बढी नेपाली भित्रिए, आउनेक्रम जारी


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ३० जेठ । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतबाट कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । उनीहरु सबै रोजगारीको सिलसिलामा भारत गएका थिए ।
वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो संख्या १९औँ गुणाले बढेको छ । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउनेक्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जनाए ।
उनले कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखको भएका बताए । उनले भने, ‘करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन् ।’ त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेको उनले बताए । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संंख्या शून्य रहेको उनको भनाइ छ ।
भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली भित्रिएपनि अझै आउनेक्रम रोकिएको छैन । जेठको १५ देखि २९ गतेसम्म २८ हजार २६४ नागरिक कर्णाली भित्रिएको रेडक्रस जिल्ला शाखा सुर्खेतका सभापति नरहरि रेग्मीले जानकारी दिए । ‘हामीले यो अवधिमा भारतबाट आएका २५ हजार ४६० नागरिकलाई खाना, पानी र २८ हजार २६४ लाई सुर्खेतको छिन्चुमा पानी उपलब्ध गराएका छौँ’ सभापति रेग्मीले भने, ‘यो सेवामा कोपिला भ्याली सेवा समाज, लायन्स क्लब, जेसिस सुर्खेत, युनिसेफ, विश्व खाद्य, सङ्गठन र उद्योग वाणिज्य संघको पनि सहयोग रहेको छ ।’
भारतबाट आएका ४१ हजार नागरिकमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टिनमा छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना संक्रमितमध्ये ७३१ आइसोलेशनमा रहेका छन् । ६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।
एक साताअघि दैनिक चार हजारको संख्यामा आउने नागरिक अहिले दैनिक एक हजारमा झरेको छ । यद्यपि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५÷२० हजार नागरिक भित्रिने गरेको अनुमानभन्दा शतप्रतिशत बढेर आएपछि सरकारलाई व्यवस्थापनमा समस्या भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी (जोशी)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्