काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा राजनीतिक पहुँच भएका व्यक्तिको संलग्नता भएको तथ्य खुलिसकेको छ । जसमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति समेत मुछिएका छन् ।
सर्वसाधारणले खाईनखाई बचत गरेको पैसा अपचलन गर्नेमा पुराना होउन् या नयाँ, ठूला होउन् या साना, गणतन्त्रवादी हुन् या राजावादी प्रायः दलका कुनै न कुनै नेताहरू जोडिएका छन् । यस प्रकरणमा केही नेता मुछिएका छन् भने केहीका पारिवारिक सदस्य नै मुछिएका छन् ।
सहरकारी ठगी प्रकरणमा सत्तारुढ दल कांग्रेस–एमालेदेखि नयाँ दल रास्वपाका नेतासमेत मुछिएका छन् । तीमध्ये कतिपय जेलमा सजाय काटिरहेका छन् । कतिपय फरार छन् भने कोही पक्राउ परेर अदालतमा मुद्दा चलाइएका छन् ।
रवि लामिछाने, सभापति (रास्वपा)
सहकारी प्रकरणमा मुछिने सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् रवि लामिछाने । उपप्रधान तथा गृहमन्त्री भइसकेका उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनी अनुसन्धानको लागि झन्डै साढे दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।
लामिछाने गत कार्तिक २ गते वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट पक्राउ परेका थिए । त्यसपछि उनको बयान कास्की, रूपन्देही, चितवन, काठमाण्डू र पर्सामा लिइयो । अहिले उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा चलाएको छ ।
रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख र सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दालाई बेस मानेर सङ्गठित अपराधमा छुट्टै माग दाबी गरिएको छ ।
लामिछाने प्रत्यक्षरुपमा सहकारी ठगीमा मुछिएका होइनन् । उनी सहकारीको सञ्चालक र बचतकर्ता पनि होइनन् । तर, सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा अवैध तरिकाले आएको रकम प्रयोग गरेवापत उनलाई मुद्दा चलाइएको हो । सहकारीबाट अवैध तरिकाले गोर्खा मिडिया पैसा आउँदा उनी सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।
इच्छाराज तामाङ, पूर्वसांसद (एमाले)
सिभिल बैङ्कका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगीकै अभियोगमा जेलमा छन् । एमालेका पूर्व सांसद समेत रहेका तामाङविरुद्ध सहकारीमा सर्वसाधारणले जम्मा गरेको करिब ८ अर्ब अपचलन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
अनुसन्धानका लागि २०७८ असोज १८ मा पक्राउ परेका तामाङ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भने तामाङलाई विशेष अदालतले २०८० माघमा दोषी ठहर गरिसकेको छ ।
दीपेश पुन (माओवादी केन्द्र)
दीपेश पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी अखिल क्रान्तिकारीका महासचिव समेत हुन् । उनले भूपेन्द्र राई तथा जीबी राईसँगको मिलेमतोमा सङ्गठित रूपमा परिचालन गर्न समूह बनाई सहकारीमा सङ्कलन भएको बचत रकम हिनामिना गरेको देखिएको छ ।
उनले सहकारी ऐन नियम विपरीत एक करोड १० लाख ७१ हजार १०३ रुपैयाँ व्यक्तिगत रूपमा अपचलन गरेको र एक करोड ३ लाख ३७ हजार ७३९ रुपैयाँ सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारीमा ट्रान्सफर गरेको प्रहरीको निष्कर्ष छ ।
देवकुमार नेपाली, मेयर (एमाले)
पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका देवकुमार नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयर हुन् । उनी हाल सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।
२०८० वैशाख ७ मा तरलता अभाव देखाएर सहकारी बन्द गरेका नेपाली त्यही वर्ष जेठ ४ देखि बेपत्ता भएका थिए । १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा अनुसन्धान गरिएपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ मा १ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले नेपालीलाई गत असोजमा भारतबाट पक्राउ गरेर ल्याएको थियो । त्यसपछि उनलाई बागलुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपाली एमालेबाट लगातार दुई पटक निर्वाचित मेयर हुन् ।
कृष्णबहादुर (केबी) उप्रेती (एमाले)
एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिव कृष्णबहादुर (केबी) उप्रेती सहकारी ठगीकै अभियोगमा डिल्लीबजार कारागारमा छन् । उनको नेतृत्वमा रहेको राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको थियो ।
उप्रेतीलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो । करिब एक महिनापछि मुद्दा चलाइएकामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गीता बस्नेत, सांसद (राप्रपा)
सहकारीको बचत ठगीकै आरोपित राप्रपाका सांसद गीता बस्नेत ६ महिनादेखि फरार छन् । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीबाट गैर कानुनी रूपमा रकम बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रास्वपा सभापति लामिछानेजस्तै बस्नेत पनि कुनै सहकारीको सञ्चालक वा बचतकर्ता भने होइनन् ।
गुरुङ दम्पती (कांग्रेस)
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् । उनी तत्कालीन श्रीमती ज्योति गुरुङमार्फत जोडिएका हुन् ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा महाप्रबन्धक ज्योति फरार छन् । सहकारीको करिब १४ करोड हिनामिना भएको थाहा पाएपछि सहकारी सञ्चालकहरूले धनराज र ज्योति गुरुङसहितलाई उपस्थित गराएर २०७६ पुस १६ मा छलफल गराएका थिए ।
त्यसको दुई महिनापछि धनराज र ज्योतिले ललितपुर अदालतमा सम्बन्ध विच्छेद गरेका थिए । तर एक वर्षपछि धनराजले सहकारीबाट ऋण लिँदा श्रीमतीको नाममा ज्योति गुरुङ उल्लेख गरेका थिए । त्यही कारण कानुनी कारबाहीबाट उन्मुक्ति लिन धनराजले ज्योतिसँग कागजी सम्बन्ध विच्छेद गरेको आरोप लाग्दै आएको छ ।
सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले धनराजमाथि पनि अनुसन्धान सिफारिस गरेको थियो । प्रहरीले उनलाई बोलाएर बयान लिएको छ, तर गम्भीर अनुसन्धान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
ऋषिकेश र अञ्जला (एमाले)
अञ्जना कोइराला संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् । अञ्जला कोइरालाविरुद्ध मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
एमाले नेता पोखरेलकै पहलमा स्थापना गरिएको सहकारीमा कोइरालालाई सञ्चालक समितिमा राखिएको थियो । उनी २०७२ देखि २०७८ सम्म सञ्चालक सदस्य थिए । कोइरालासमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ११ करोड ५६ लाख ऋण लिएको थियो ।
ऋण नतिरेपछि लघुवित्तले यसअघि नै कोइरालालगायतलाई कालोसूचीमा राखिसकेको छ । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएका थिए । अनुसन्धानमा रकम अपचलनमा कोइरालासमेत संलग्न देखिएपछि २६ जनाविरुद्ध साढे २२ करोड बिगो र ८ वर्ष कैद माग दाबी गरेर जिल्ला अदालतमा गत मुद्दा दायर गरिएको हो । उनी हाल फरार सूचीमा छन् ।
मिना गुरुङ, पूर्वसांसद (एमाले)
गण्डकी प्रदेशसभाकी पूर्व सांसद मिना गुरुङ हालै पक्राउ परेका छन् । उनी ०६५ देखि ०६८ सम्म सूर्य दर्शन सहकारीकी सञ्चालक समिति सदस्य रहेका बेला दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीको दाबी छ ।
समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यता विपरीत बचतकर्ताको हित विपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।
शिवबहादुर गुरुङ (युवासंघ)
नेकपा एमाले निकट युवासंघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङले सूर्य दर्शन सहकारीबाट १७ करोड ८ लाख ५ हजार २४९ रुपैयाँ दायित्व बहन गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा देखिएको छ । उनले सूर्य दर्शन सहकारीमा २०७३ देखि २०७८ सम्म सञ्चालक समितिको सदस्यको रूपमा काम गरेका थिए ।
सोही समयमा उनले सहकारीबाट पैसा निकालेर विभिन्न ठाउँमा घरजग्गा खरिद गरेका थिए । उनले जीबी राईसँग मिलेर सहकारीको पैसाले जग्गा किनी घर बनाई बिक्री गरेका थिए ।
कैलाश दर्लामी, वडाध्यक्ष (माओवादी केन्द्र)
रामेछापको लिखु तामाकोसी गाउँपालिका– ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी माओवादीका युवा नेता पनि हुन् । उनले पदको दुरुपयोग गरी जीबी राईको कम्पनीमार्फत सहकारीको बचत रकम अपचलन गरी रकमान्तर गरी आफूले समेत आर्थिक लाभ लिएको भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
उनले २०७८ सालमा सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको भनिए तापनि त्यसपछिका बैठकमा पनि सहभागी भएको देखिन्छ । प्रतिवेदनका अनुसार उनले उक्त अपराधबाट बच्न किर्ते राजीनामा–पत्रसमेत अनुसन्धानको क्रममा पेस गरेको अभियोग छ ।
दर्लामी जीबी राईको सङ्गठित समूहमा रही सहकारी संस्थाको बचत रकम अपचलन गरी विभिन्न कम्पनीसमेत सञ्चालन गरेको देखिएको अभियोगमा उल्लेख गरिएको छ ।
विशाल तामाङ, नेता (कांग्रेस)
सूर्य दर्शन सहकारी मुद्दामा १७ नम्बरका प्रतिवादी सिन्धुलीका विशाल तामाङ नेपाली काँग्रेसका नेता हुन् । उनीविरुद्ध जीबी राईको सङ्गठित समूहमा रहेर सूर्य दर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
उनले सहकारीको रकम अपचलन गरी कम्पनीको शेयर लिएको, घरजग्गामा लगानी गरेको र जीबी राईको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सूर्य दर्शनसहित सानो पाइला सहकारी सञ्चालनमा ल्याई सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा अवैध रुपमा २७ लाख ६८ हजार ३३३ र २ करोड ६० लाख ५७ हजार रुपैयाँ जीबी ग्रुप अफ कम्पनीज प्रालिमा लगेका थिए ।
जनताका पीडामा राजनीति
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको ३ महिना बढी भइसक्यो । सहकारी प्रतिवेदनकै आधारमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपीहरूमाथि पक्राउ गरी मुद्दा अभियोजन गरिएको छ । तर संसदीय समितिको प्रतिवेदनअनुसार कारबाहीको प्रक्रिया भने तीव्र रूपले अघि बढ्न सकेको छैन ।
सहकारी ठगीमा मुछिएका सत्तारुढ दलका नेताहरूलाई भने सरकारले संरक्षण गरिरहेको विपक्षी दलहरूको आरोप छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनअनुसार ४० सहकारीबाट ८७ अर्ब बचत रकम अपचलन भएको छ । समितिको प्रतिवेदन भन्दा बाहिर पनि सयौँ सहकारीहरू समस्याग्रस्त छन् ।
एकपछि अर्को गरी सहकारी संस्थाहरूबाट ठगिएको उजुरी परि नै रहेको छ । तर समितिले नै औँल्याएका ४० वटा सहकारीको समस्या समेत सुल्झाउनेतर्फ सरकार लागेको देखिँदैन । सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियामक निकायका रूपमा तीन महिनाभित्र सहकारी प्राधिकरण बनाउने सहितका कतिपय कुराहरू गर्न समितिले सरकारलाई सुझाएको थियो । तर अहिलेसम्म सहकारी प्राधिकरणसमेत गठन हुन सकेको छैन ।
यसैगरी, जीबि राईसहित फरार सहकारी सञ्चालकहरूलाई पक्राउ गर्न, समस्यामा परेका सहकारीका सञ्चालकहरूको सम्पत्ति र उनीहरूको राहदानी रोक्का गर्न समितिले सुझाव दिएको छ । त्यस्ता सहकारी सञ्चालकहरू विरुद्ध पक्राउ पुर्जी जारी गरी रेड नोटिस जारी गर्ने र राहदानी रोक्का गरे पनि अन्य काममा सरकार चुकिरहेको छ ।
पीडितहरूको बचत फिर्ताका लागि पनि सरकारले तदारुकता देखाउन सकिरहेको छैन । सहकारी पीडितहरूले बचत कहिले फिर्ता पाउँछन् अझै टुङ्गो लाग्न सकेको छैन । ८७ अर्ब बचतको बचत अपचलनको विषय भएता पनि सरकार व्यक्ति केन्द्रित हुँदा सहकारी समस्या समाधान हुने देखिँदैन ।
सहकारी अपचलनमा जोडिएका सत्तारुढ दलका नेताहरूमाथि पनि छानबिन र कानुनी कारबाही गर्नपर्छ । फरार रहेकाहरूलाई खोज्ने तदारुकता देखाउनुपर्छ । ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । त्यसकारण समयमै पीडितले न्याय पाउनुपर्छ ।