Logo
Logo

कर्णालीमा मात्रै ११०० भन्दा बढी संक्रमित


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ४ असार । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १०० नाघेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या एक हजार १०४ पुगेको उनले बताए ।
महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन् ।
कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना संक्रमित कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन् । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्