Logo
Logo

सांसद विकास कोषको रकम कोरोना रोकथाम र उपचारमा खर्च गरिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ असार ।
सांसद विकास कोषको नामले चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड– १९ रोकथाम तथा उपचारका लागि खर्च हुने भएको छ ।


अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले २ असारको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोभिड– १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको जानकारी दिए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली, २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोभिड– १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरिएको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आर्थिक वर्ष ०७६÷७७ मा छुट्याइएको रकममध्ये खर्च नभएको रकम १५ असारभित्र सम्बन्धित स्थानीय तहमा रहेको कोभिड– १९ व्यवस्थापनका लागि खोलिएको खातामा जम्मा गर्नुपर्नेछ ।

उनले भने, ‘लामो समयदेखि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोभिडको सन्दर्भमा प्रयोग गरौँ भन्ने एक किसिमको जनमत पनि आएको र संसदमा पनि यो छलफल भएको विषय हुनाले त्यसैअनुसार थपिएको के छ भने स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै आयोजनाका लागि आर्थिक वर्ष ०७६र७७ मा छुटाइएको रकम खर्च नभई बचत हुन गएमा त्यस्तो बचत रकम संयोजकले जो निर्वाचित प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ निर्देशक समितिका अन्य सदस्यसँग परामर्श गरी सम्बन्धित स्थानीय तहमा रहेको कोभिड– १९ को व्यवस्थापनका लागि खोलिएको खातामा ०७७ साल असार १५ गतेभित्र जम्मा गर्न सकिनेछ । यसरी जम्मा भएको रकम कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारको काममा मात्र प्रचलित कानुनअनुसार खर्च पाउने भन्ने निर्णय भएको छ ।’
सांसद विकास कोषको धेरै रकम अहिलेसम्म खर्च भएको छैन ।

प्रतिक्रिया दिनुहोस्