Logo
Logo

हमाससँगको युद्धविराम सम्झौता इजरायलद्वारा अनुमोदन


819
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएका थिए । बुधबार अमेरिका र कतारले पहिलोपटक सम्झौताको घोषणा गरेका थिए ।

यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने बताइएको थियो । तर, बेन्जामिन नेतान्याहुले हमासले सम्झौता परिवर्तन गर्न खोजेको भन्दै क्याबिनेटको मतदान स्थगित गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो । हमासले विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ बिहान समाधान भएको बताएको थियो ।

सम्झौताबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका छन् । बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल हुनेछ ।

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ती हमलाहरूमा १,२०० मानिस मारिएका थिए भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको र तीमध्ये ३४ जनाको मृत्यु भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्