Logo
Logo

मैले देखेको, चिनेको र जानेको कमरेड ओली


यादवचन्द्र शर्मा


  • यादवचन्द्र शर्मा

मैले देखेको कमरेड ओली
आज मिति तिथिको कुरा नगरौँ । सिधैँ कथावाचकको शैलीमा प्रवेश गरौँ । आजको बिषय हो ‘मैले देखेको, चिनेको र जानेको कमरेड ओली’ त्यसैले घटनाको बिषयबस्तुमा सोझै प्रवेश गरौँ । बोसो र मासुले प्रवेश पाउनुअगावै अस्थिपञ्जरको ढॉचा बोकेर ब्रम्हाको प्रयोगशालाबाट सुइँकुच्चा ठोकेको आदिमानव जस्तो सिन्के शरीर, घिर्नीजस्तो बाटुलो, चिल्लो टाउको र बोलेर नथाक्ने पातला ओठहरु मेरो पहिलो भेटमा उनले पारेको प्रभाव हो । मेरो मानसपटलमा आज पनि उनको त्यही छवि सुरक्षित छ । आँटमा पीडाका पहाडहरु बन्दी जीवनका असहाय वेदना र उकुसमुकुस भए पनि चम्किला दाँतमा स्पष्ट हाँसो देखिन्थ्यो । यस्तै थियो मेरो मानसपटलमा छापिएको सुरुका दिनको कमरेड ओलीको तस्बिर ।


छैठौँं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित मेची–काली अभियानको शिलसिलामा विराटनगरको कार्यक्रममा भाग लिन जाने टोलीमा कमरेड ओलीलगायतका बरिष्ठ नेताहरु अघि अघि र प्रदिप नेपालसहित हामीहरु पछि–पछि यात्रारत थियौँ । ढल्केवरमा सबैले सँगै बसेर खाजा खाने सल्लाह थियो । तर बाटैमा प्रदिप नेपाल चढेको सवारी साधन बिग्रिएकोले हामी आइपुगुन्जेल पर्खदा अलि ढिलो भयो । तैपनि कमरेड ओलीहरु पर्खिरहेकै थिए । उनलाई अत्यन्तै मजाक गर्नुपर्ने । मजाकिया शैलीमै ‘तपाईहरु त अपहरणमा पर्नुभयो की भन्ने चिन्ताले हाम्रो छटपटी बढाएको थियो’ भन्दै फिस्स हाँसे । उनको हाँसेको त्यो अनुहार अझैपनि मेरो सम्झनाका तरेलीहरुमा ताजैै छ ।
मैले खाजा घरभित्र पसेर परिकारको विवरण लिएर आएँ । बगेडी र तासका साथ आलुतामाको झोलसँग भुजिया चिउरा खानेकुरा तय भयो । कमरेड ओलीले होटलवालालाई नजिकै बोलाएर भने ‘यी सबैलाई एक एक प्लेट दिनु मलाई चाहिँ दुई प्लेट ।’ ‘सुप्रिम कमाण्डबाटै वितरणमा धाँधली’ मैले प्वाक्क बोले । बाह्र बर्ष रामायण पढायो सिता कसकी जोई । समानता नै यही छ । अरुले खाएको एक प्लेट घाटीको मार्गबाट सोझै उदर प्रवेश गर्छ तर मेरो भने एक प्लेट त सबै दाँतमै अड्किन्छ । अनि भएन समानता ? कमरेड ओलीको उत्तरापेक्षी प्रश्न थियो । हाम्रो हाँसोमा होटलवाला र उनका अन्य ग्राहकहरुले समेत हाँसो मिलाएर स्वाद लिएका थिए । यो हो मैले देखेको कमरेड ओली ।

मैले चिनेको कमरेड ओली
छैटौँ महाधिवेशन पछि पार्टी विभाजन भैसकेको थियो । आम निर्वाचनमा पार्टी बहुमतमा आउन सकेन । पार्टीका राष्ट्र निर्माणका सपनाहरु अधुरै रहे । समय छिटो–छिटो अघि बढिरहेको थियो र कमरेड ओलीका आकाँक्षाहरु पनि हावासँग बात मारिरहेका थिए । छैठौँं महाधिवेशनले माधव नेपाललाई महासचिव निर्वाचित गरिसकेको थियो र कमरेड ओलीको चाहानाले उच्च नेतृत्व तहमा आफु स्थापित हुने उचाइ छोडेकै थिएन ।
कमरेड ओलीले संसदमा विपक्षी दलको नेता हुने मनसाय राखे पनि पार्टी निर्णय हुन सकेन । यसबाट धक्का महसुस गरेका उनले जिफण्टले आयोजना गरेको राष्ट्रिय सभागृहको कार्यक्रम स्थलबाट ‘म कसैलाई महासचिव बनाउन जन्मिएको होइन, मेरा हातहरु कसैलाई संसदिय दलको नेता छान्ने निर्वाचनमा भोट हाल्नका लागि मात्र बनेका हैनन् र मैले यसैका लागि चौध बर्षे यातनारत जेल जिवन व्यतित गरेको पनि हैन’ भन्ने उद्घोष गरेका थिए ।
यसपछि सर्वोच्च नेतृत्व प्राप्तीका लागि उनका आकाँक्षाहरु चुलिन थाले । एक दिन सचिवालयको मेरो कक्ष कफि खाँदै म सँग सोधनी भयो ‘ए छोटे पंडत, बडे पंडत किधुर ? कमरेड ओली प्रायः मलाई छोटे पंडत र कमरेड’माधवलाई वडे पंडत भन्ने गर्थे । मैले सहजतापूर्वक ‘भरतपुर’ भनि दिएँ । काट्न कि बाल्न’ उनको पुनः प्रश्न तेर्सियो । ‘किन दुवै हुँदैन र ?’ मैले सोधे । ‘हुन्छ’ । तर एक जनाले भन्थ्यो ‘माधवजिको कोटका खल्तीमा एकातिर लाइटर र अर्कातिर कैँची स्थायी रुपमा राखिदिनु पर्ने ।’ मैले तुरुन्तै सोधे, ‘त्यो को हो कुन्नी, आफुले जिवनभर नपाउने भएँ भन्ने कुण्ठा पोखेछ । मैले कमरेड ओलीको अनुहार तीर पुलुक्क हेरे । उनको अनुहारमा असन्तुष्टीको, दुराकांक्षाको र इस्याको भाव देखिनँ । बरु विषयलाई नयाँ मोड दिँदै भन्न थाले, ‘पण्डितहरु दुना, टपरी, वोहता, सिदा, भेटी, दक्षिणा, नैवेद्य र प्रसादहरु आफैँ सोर्हछन् । गाई–बाच्छाको पुच्छर हामीलाई समाउन लगाउँछन् र दाम्लोचाहिँ आफ्नो हातमा लिन्छन अनि हामीलाई पानी समाउ भनेर लगाउने ? पानी पनि कतै समाइन्छ ?, ढाँट्ने, जाली कुरा गर्ने ? उनका कुरा सुनेर म जिल्ल परेँ । यो हो मैले चिनेको कमरेड ओली ।

मैले जानेको कमरेड ओली
अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो । कमरेड ओली त्यो सरकारको गृहमन्त्री भए । उनले मन्त्री क्वाटरभित्रै गाडीसँग खेल्दाखेल्दै हाँक्न पनि सिकेछन् । उनलाई सवारी चालक अनुमती पत्र लिन मन लागेछ । ट्राफिक प्रहरी निरीक्षक गोविन्द पौडेललाई इन्द्र भण्डारीले निवासमै बोलाएर परीक्षाको व्यवस्था मिलाएका रहेछन् । म त्यतिबेला त्यहीँ उपस्थित रहेको हुँदा ‘बहती गंगा मे हात धोकर पुण्य कमा लो’ वाला उखान चरितार्थ गरेँं । मैले त्यसैै दिन परीक्षा दिएँ, पास गरेँ र गाडी चलाउने हैसियत आर्जन गरेँ ।
कुनै एक दिन मध्यान्हमा बल्खु कार्यालयको प्रांगणमा कमरेड ओली कार्यकर्ताबीच भलाकुसारी गर्दै थिए । म त्यतिबेलै विपक्षी दलका नेता चढ्ने गाडी लिएर प्रांगण प्रवेश गरेँ । चालकलाई चाबी जिम्मा लगाएर कमरेड ओली निकट पुगेको मात्र के थिएँ, उनले ‘कमाराका टाउकामा कपाल काट्न सिकेको ?’ भन्न भ्याइहाले । म निच्च परेँ, अरु स्वादले हाँसे । तिनताका हामी दुवै पाटनमै बस्थ्यौँ, त्यसैले कार्यालयबाट घर फर्कँदा कहिलेकाहीँ म कमरेड ओलीसँगै आउने अवसर पाउँथे । त्यसदिन ओलीका साथ पि.एस.ओ.बाहेक कुनै एक सायद, गुरु बराल वा देवराज घिमिरेमात्र थिए । मलाई सजिलै अवसर प्राप्त भयो । म पनि गाडीमा चडिहालेँ । गाडी कमरेड ओली आफैँले चलाएका थिए । हामी गाहबहाल चोकसम्म निर्वाध आइपुग्यौँ । गन्तव्य स्थल पुग्न अगाडि महापाल चोकमा मजाको जाम परेको रहेछ र गाडी फस्न पुग्यो । अघि पछि कतै सार्ने स्थिति बनेन । उनले गाडीको स्टार्ट बन्द गरे, चाबी हातमा लिएर चालकको सिटबाट फुत्त तल झरे र गाडी पछाडि रोकिएको ट्याक्सी चालकलाई चाबी थमाउँदै भने, ‘मैले जानेजति चलाएँ, बाँकी आफैँ जान्ने’ यो हो मैले जानेको कमरेड ओली ।
दुर्भाग्यवस कमरेड ओलीलाई आज कुन्नी के भूत सवार भएको छ, उपल्लो पद हाँसिल गर्नासाथ ज्ञानको एकाधिकार आफैँ प्राप्त हुन्छ भन्ने लागेको छ । चारै चक्का ज्याकले उचालेर चलाएपनि गाडी गुडिरहन्छ भन्ने भ्रम छ, गाडी हाँकिएको छ, चक्का घुमिरहेका छन् र बेलाबेला झ्यालबाट बाहिर हेर्दै इन्द्र भण्डारीलाई सोध्छन, कहाँ पुगियो हँ ?

प्रतिक्रिया दिनुहोस्