गण्डकीमा आज २५ थपिए : ७९२ जना संक्रमित, १०१ निको भए


Published On : 26 June, 2020

कास्की, १२ असार । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा संक्रणमण पुष्टि भएको जनाएको छ । संक्रमितमध्ये २३ जना पुरुष र दुई महिला छन् ।
संक्रमितमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
अहिले सबै जना संक्रमितलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म संक्रमितको संख्या ७९२ पुगेको छ भने १०१ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा हालसम्म ७९२ जना कोरोना संक्रमित पुगेका छन् । प्रदेशको मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई संक्रमितको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्