
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले यूूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको छ । यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।
अमेरिकी कंग्रेसमा रहेका डेमोक्रेटिक पार्टीहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा यूएसएआईडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानूनी अधिकार नभएको भन्दै राष्ट्रपति ट्रम्पको यो कदमविरुद्ध कानूनी लडाईं लड्ने बताइरहेका छन् ।
यूएसएआईडीले विश्वभरका विभिन्न देशमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्दै आइरहेको थियो ।