काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले क्यान्सर निवारण गर्न सचेतना र रोकथामको पाटोमा बढी जोड दिनुपर्ने बताएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आयोजना गरेको विश्व क्यान्सर दिवस, २०२५ को अवसरमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ भन्ने मूल नाराका साथ आज आयोजित अन्तरक्रियामा उनले क्यान्सर नै लाग्न नदिने बाटोमा अघि बढ्नुपर्ने बताए ।
सचिव पोखरेलले भने, ‘निरोधात्मक पक्षमा बढी ध्यान दिनुपर्ने आवश्यकता छ । पहिचानपछि उपचार गर्ने राज्यको दायित्व त छ तर क्यान्सर लाग्नै नदिन काम गर्नुपर्ने देखिन्छ । क्यान्सर उपचारमा रिफरल मेकानिजमलाई व्यवहारिक र परिस्कृत बनाउनुपर्नेछ ।’ उनले सचेतनाको पाटोमा तल्लो तहमा काम गर्ने र रिफरल मेकानिजमलाई राम्रो गरेर केन्द्रकृतभन्दा पनि प्रदेश स्तरसम्म लाने र आवश्यकताअनुसार केन्द्रमा ल्याउँदा क्यान्सर उपचारमा सहजता आउने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले क्यान्सरको प्रारम्भिक पहिचान र रोकथाममै बढी जोड दिनुपर्ने बताए ।