Logo
Logo

जसपा नेपालको अध्यादेश कार्यदलले अर्थविद्सँग छलफल गर्दै


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलले आज अर्थविदहरुसँग छलफल गर्दैछ ।
कार्यदलले आज दिउँसो १ बजे अर्थविदहरुसँग छलफल गर्ने भएको हो ।

मंगलबार सिंहदरबारमा विज्ञहरूसँग भूमि सम्बन्धी अध्यादेशबारे छलफल गरेको कार्यदलले आज अर्थविदहरुसँग छलफल गरेर शीर्ष नेतृत्वलाई अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने कार्यदलका संयोजक राजकिशोर यादवले जानकारी दिए ।

सरकारले संसद् नरहेका बेला ल्याएका ६ वटा अध्यादेशबारे पार्टीको धारणा बनाउन जसपा नेपालले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावको आधारमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भन्नेबारे जसपा नेपालले निर्णय लिने छ ।

प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।

अध्यादेशलाई संघीय संसद्का दुवै सदनले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ २४ गते अर्थात् विहीबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरु निर्णयार्थ पेस गर्ने तयारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विपक्षी दलहरूले भने अध्यादेशको चर्को विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्