
काठमाडौं । त्रिदेशीय महिला टी–२ शृङ्खलामा लगातार चार खेल हारेको नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेदरल्याण्ड्ससँगको खेल दिउँसो १२ः १५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले हार्यो । तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो ।
प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ । चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।
नेपालको उपाधि यात्रा समाप्त भइसकेको छ । आज हुने खेलमा नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । शृङ्खलाको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।