काठमाडौं । सहरी विकास मन्त्रालयका उच्च कर्मचारी तथा आयोजना प्रमुखहरु उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीसँग वाक्कदिक्क भएका छन् ।

साना–साना काममा समेत हस्तक्षेप गर्ने, कर्मचारीको आन्तरिक बैठकभित्रै बसेर ठूला ठूला कुरा गर्र्ने, बिभाग र आयोजनामा आफ्ना मान्छे भर्ना गर्न दबाब दिने, डीपीआर दिन सिफारिश गर्ने जस्ता व्यवहारबाट मन्त्रालयका उच्च कर्मचारीहरु दिक्क भएका हुन् ।
खासगरी मन्त्री सिंहका स्वकीय सचिव युपी लामिछानेको हर्कतबाट मन्त्रालयका केही आयोजना प्रमुखहरु सरुवा गराई लो–प्रोफाइनलमा बस्ने मनस्थितिमा पुगेका छन् । लामिछानेले काठमाडौं तथा काठमाडौंबाहिर रहेका आयोजना प्रमुखहरुलाई मन्त्रालय नजिकैको सर्भिस सेन्टर (क्यान्टिन)मा बोलाउने र बार्गेनिङ गर्ने गरेको एक आयाोजना प्रमुखले बताए । पछिल्लो समय युपीको सिको अर्का स्वकीय सचिव उज्वल बज्राचार्यले समेत सुरु गरेका छन् ।
लामिछानको यस्तो व्यवहारबाट सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका आयोजना प्रमुख झपट थापा चेपुवामा परेका छन् । युपीले अनावश्यक दुःख दिए भन्दै थापाले आफूनिकट कर्मचारीहरुसँग भन्न थालेका छन् । थापानिकट स्रोतका अनुसार युपीले साना साना काममा पनि थापालाई दबाब दिने गरेका छन् ।
लामिछानेलाई चित्त बुझाउन नसक्दा थापाको सरुवा हुने स्थिति छ । थापालाई नवलपुरको नमुना सदरमुकाम बनाउने जिम्मा दिइएको छ । यो मन्त्रालयभित्रको सबैभन्दा ठूलो प्रोजेक्ट हो । त्यसैमा युपी र मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आँखा लगाएका हुन् । स्रोत भन्छ, ‘युपीसँग सिग्देल र विभागका महानिर्देशक मच्चाकाजी महर्जनसमेत चिढिएका छन् ।’
मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरुले दिक्क बनाएको भन्दै सिग्देलले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरेका थिए । सिग्देलले यसअघि उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको प्रशासनिक नेतृत्व गरेका थिए । उर्जा र भौतिकभन्दा सहरीमा काम गर्न गाह्रो भयो भन्दै सिग्देलले आफूनिकट कर्मचारीसँग भन्ने गरेका छन् । उनले भन्ने गरेका छन्, ‘मन्त्रीज्यू त सोझो हुनुहुन्छ । केही गरौं भन्न खोज्नुभएको छ । तर उहाँ निकट मान्छेहरुले काम गर्न दिंदैनन् ।’
मन्त्रीपत्नी, मन्त्रीका नातेदार तथा स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरुले काम गर्न नदिएको उनको आसय थियो– स्रोत भन्छ । पछिल्लो समयमा सिग्देलले युपी र उज्ज्वललाई मन्त्रालयका कर्मचारीहरुको उच्च बैठकमा प्रवेश गर्नसमेत रोक लगाएका छन् । मन्त्रीपत्नी सिर्जना सिंहको सरुवादेखि ठेक्कापट्टा र परामर्शका काममा चर्को हस्तक्षेपले उनी हैरान भएका छन् ।
मन्त्रालयले केही दिनमा केही आयोजनामा नयाँ पदस्थापन र कतिपयमा सरुवा गर्न खोज्दैछ । खासगरी भर्खरै बढुवा भएका ३ सहसचिवलाई नयाँ ठाउँमा पदस्थापन गर्न लागिएको छ । यसमा युपीले आँखा लगाएका छन् ।
सघन सहरी आयोजना काठमाडौंको आयोजना प्रमुखबाट जगदिश लाछिानेलाई हटाउन खोजिएको छ । मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन (ओएनएम)मा काठमाडौं आयोजना प्रमुखमा सहसचिव सरहका कर्मचारीलाई राखिएको छ । हाल त्यहाँ उपसचिव सरहका कर्मचारी लामिछाने आयोजना प्रमुख छन् ।
त्यसैले लामिछानेलाई हटाउन खोजिएको छ । लामिछानको ठाउँमा अर्को व्यक्तिलाई ल्याउन युपीले पहल सुरु गरिसकेका छन्–स्रोत भन्छ । यसैगरी मन्त्रालयको आरयुडीपी आयोजनामा आयोजना प्रमुख पनि हाल रिक्त रहेको छ । त्यहाँ ल्याउन पनि नयाँ व्यक्तिको खोजी भइरहेको छ ।