
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा जिल्ला अदालत चितवनमा बयान सुरु भएको छ ।
चितवनको साहारा बहुउद्देश्य सहकारी सस्थाको रकम ठगीका प्रतिवादी लामिछाने आज बिहानै अदालतमा उपस्थित भएपछि अहिले न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भइरहेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले मगंलबार लामिछाने सहित १५ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक मुद्दा दर्ता गरेको छ । यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबि राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
रवि लामिछानेसहित १२ जनालाई सहकारी ठगी र जिबि राईसहित २० जनालाई संगठित अपराधमा मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए । सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक लामिछानेलाई संगठित अपराध मुद्दाबाट उन्मुक्ति दिइएको छ ।
एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई र अर्का संचालक रहेका पूर्व डिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाइएको छ ।
प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले भने उनलाई संगठित अपराधमा मुद्दा नचलाई उन्मुक्ति दिएको हो ।
एक बाहेक अर्को संस्थामा आवद्ध भएको नदेखिएको र सहकारीबाट ऋण निकाल्नमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुलुकी अपराध संहितामा मात्रै मुद्दा चलाइएको सरकारी वकिल कायालयको दाबी छ । रविविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेपछि चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल हिजै सरुवा भएका छन् ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तरगत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दावी लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ ।
यस्तै राई र जोशीलाई भने लामिछानेलाई माग दावी गरेको अनुसार नै मुलुकी अपराध संहिताको सजाय र संगठित अपराध निवारण ऐन अन्तरगत ३ (१), (२) (३ क) र ५ विपरीत कसुर गरेको भन्दै दफा ९ (क) र (ग) बमोजिम सजायको माग दावी गरिएको छ ।
सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ठगी गरी लगेको बिगो बमोजिम १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँको सामूहिक दायित्वमा रहेका प्रतिवादीहरू रवि लामिछाने, गितेन्द्रबाबु (जिबि) राई, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट सामूहिक दायित्वमा हुने बिगो असुल गर्न माग गरिएको छ ।
१८४ पृष्ठको अभियोग पत्रमा १२ जनालाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन माग गरिएको छ । १२ जना मध्ये जिबि भनिने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्रपाणी बास्तोला रहेका छन् । त्यस्तै रविसहित अन्य २० जनालाई ठगी मुद्दा मात्र चलाउन माग गरिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएको देखिएपछि रवि चितवनको सहकारी रकम अपचलन मुद्दामा जोडिएका हुन् । यसअघि रविले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए । करिब ३ महिना प्रहरी हिरासतमा बसेका रवि पोखरामा ६५ लाख, काठमाडौंमा ६० लाख र बुटवलमा १ करोड धरौटी तिरेर हिरासतमुक्त भएका थिए ।