काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो ।
तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए ।

तर बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् ।
‘चुनावमा गराउनेमा सबै विद्यार्थी संगठनका प्रतिनिधिले प्रतिबद्धता जनाउनु भएको छ । चुनावको माहोल बनेको छ,’ परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि स्ववियु चुनाव ५ चैतमा गर्न सहमत भएको बताए ।
‘स्ववियु चुनाव गर्ने सहमति भएको छ,’ उनले भने । कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्न लागिएको हो । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।
बैठकले स्ववियु चुनाव निर्देशिका परिमार्जन गर्न कानुनी सल्लाहकारलाई दिने निर्णय बैठकले गरेको छ ।
स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।