Logo
Logo

पूर्व राजालाई गाली गर्ने एसएसपी कारबाहीमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ माघ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्ने एसएसपी कारबाहीमा परेका छन् । ज्ञानेन्द्रले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपीएसएसपी गणेश ठाडामगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो ।

मगरसँग स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीको प्रकृति तय हुने मुख्यालयले जनाएको छ । कारबाही प्रक्रिया सुरु भएपछि मगरले फेसबुक पोस्ट हटाएका छन् ।
‘सुरक्षाकर्मीले कुनै व्यक्ति तथा पार्टीको बारेमा आलोचना गर्न पाउँदैनन् । तटस्थ हुुनपर्छ,’ सशस्त्रका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल सञ्चालनबारे कार्य्विधि नै बनाएर लागू गरेका छौँ ।’

केही समयअघि पनि कार्य्विधिविपरीत सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गरिएको उनले बताए । स्रोतका अनुसार संगठनबारे नकारात्मक कुरा फेसबुकमा सेयर गर्ने केही अधिकृतमाथि पनि कारबाही प्रक्रिया सुरु भएको छ ।

राजनीतिक टिप्पणी गर्नदेखि युनिफर्म लगाएको फोटो राख्न बन्देज
सशस्त्र प्रहरीमा सामाजिक सञ्जाल सञ्चालन कार्य्विधिमा कडाइ गरिएको छ । सामाजिक सञ्जालमा विवादास्पद समाचार सेयर गर्न र टिप्पणी लेख्न रोक लगाएको छ । यस्तै, राजनीतिक टिप्पणी गर्न नपाइने, युनिफर्म लगाएको फोटो राख्न नपाइने, संगठनका गोप्य विषय राख्न नपाइनेजस्ता विषय कार्य्विधिमा छन् । सामाजिक सञ्जाल चलाउनेको निगरानी हुने गरेको सशस्त्रका प्रवक्ता श्रेष्ठले बताए । कार्य्विधि यसअघि नै निर्माण गरेर कार्यान्वयनमा ल्याइए पनि अहिले कडाइ गरिएको हो । सशस्त्र मुख्यालयले सबै कार्यालयलाई सर्कुलर गरेको छ । सामाजिक सञ्जालका कारण सबै जसो सुरक्षा निकायमा अनुशासनहिनता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्