Logo
Logo

संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


2.3k
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८०’ सदनमा पेस गर्नेछन् भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभामा अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ ।

अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरू गरेको छ । र अप्ठ्यारो अवस्थामा पर्दा सता गठबन्धन भित्र विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस लचिलो पनि बन्दै गएका छन् ।
अध्यादेश मार्फत संशोधन गरिएका कानुन राम्रा भएपनि भूमि सम्बन्धि अध्यादेशमा जसपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्