
काठमाडौं । चितवनको सौराहामा निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर मुकुना नामक जंगली हात्तीको मृत्यु भएको छ । सौराहा आसपास बस्तीमा छिरेर स्थानीयलाई त्रसित बनाएपछि हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ । बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।
घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।















