Logo
Logo

प्यालेस्टाइनी भूमी कब्जा गर्ने ट्रम्पको भनाइप्रति मध्यपूर्वमा चर्को विरोध


2k
Shares

काठमाडौं । प्यालेस्टाइनी भूमी गाजापट्टी कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति मध्यपूर्वका देशहरूले तिव्र विरोध जनाएका छन् । ट्रम्पले केही दिनअघि एक पत्रकार सम्मेलनमा गाजापट्टीलाई अमेरिकी नियन्त्रणमा लिँदै त्यहाँ पुनर्निर्माण गर्ने उल्लेख गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार ट्रम्पको उक्त भनाइप्रति मध्यपूर्वका धेरै देशहरू असहमत भएका छन् । साउदी अरेबियाले ट्रम्पको भनाइप्रति विरोध गर्दै आफूहरु प्यालेस्टाइनी जनताको साथमा रहेको बताएको छ । गाजामा साम्राज्यवादी मनसायसहितको कुनैपनि प्रकारको घुसपैठको विरोध गर्ने साउदी अरबियाले जनाएको छ ।

प्यालेस्टाइन अस्तित्वमा रहेमात्र इजरायलसँग सम्बन्ध सम्भव रहेको भन्दै गाजाका मानिसहरूको निष्कासन सहन नगरिने उसले उल्लेख गरेको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघले पनि गाजालाई कुनैपनि तरिकाले कब्जा गर्नु र त्यहाँका मानिसलाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमहरूविरुद्ध भएको बताएको छ ।

साउदी र संयुक्त राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन् । जोर्डनले गाजामा जग्गा कब्जा गर्ने र प्यालेस्टिनीलाई उनीहरूको भूमिबाट निष्कासन गर्ने कुनैपनि प्रयासको विरोध गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

टर्कीले गाजाबाट प्यालेस्टिनीहरूलाई निकाल्ने विचार पनि सहन नसकिने जनाएको छ । गाजाका जनताको सहमति बिना कुनैपनि निर्णय नहुने, यदी त्यसो भए आफूहरुले विरोध गर्ने टर्कीको भनाइ छ । प्यालेस्टाइनले गाजाबाट प्यालेस्टिनी जनतालाई निष्कासन गर्नु पूर्णतया गैरकानूनी कार्य हुने बताएको छ । त्यसविरुद्ध आफूहरूले निरन्तर संघर्ष गरिरहने प्यालेस्टाइनले जनाएको छ ।

बुधबार भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि पत्रकार सम्मेलनमा ट्रम्पले गाजामा बसोबास गर्ने २३ लाख मानिसलाई इजिप्ट र जोर्डन जस्ता देशहरूमा बसोबास गराइने जनाएका थिए । उनले अमेरिकाले अब पश्चिम एसियाको समस्या समाधान गर्न दीर्घकालीन योजनामा काम गर्न थालेको पनि समेत उल्लेख गरेका थिए ।

ट्रम्पले उक्त योजना सम्पूर्ण विश्वको लागि लाभदायक साबित हुने जनाउँदै नतिजा चाँडै नै आउने बताएका थिए । ट्रम्पको योजनामा नेतान्याहूले पनि समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्