
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आफुले एक्सन रुमबाट सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गर्न लागेको जानकारी दिएका छन् । ‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ,’ उनले लेखेका छन् ।
ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो प्राथमिकता छ– थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ । पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्,’ उनले भनेका छन् ।














