Logo
Logo

सुदूरपश्चिम अपडेट : कोभिडका कारण ६ जनाको मृत्यु, २ हजार बढी संक्रमित


- दृष्टि न्युज/संवाददाता


धनगढी, १४ असार । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएको छ। यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
कोभिड—१९ को संक्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २१४ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । जसमा ४२४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबारमात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा संक्रमण भएको पुष्टि भएको हो ।
जिल्लागत रुपमा हालसम्म कैलालीमा ५७७ जना, अछाममा १३३, बैतडीमा २३१, बझाङमा ७२, बाजुरामा १९१, डडेलधुरामा २२६, दार्चुलामा १६, डोटीमा ३२३, र कञ्चनपुरमा ३०७ जना कोभिड–१९ का संक्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा एक लाख २५ हजार २९३ को नमूना जाँच गरिसकिएको छ ।
आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट एक लाख आठ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ ।
प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शंकास्पद व्यक्तिको संकलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् ।

संकलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । संक्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १३५ जना रहेकोमा अधिकांश संक्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शंकास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्