मोडलिङ, थिएटर हुँदै भावना उप्रेतीले फिल्ममा डेब्यू गरेकी छिन् । मोडलिङमा चर्चा बटुलिरहेकै बेला फिल्ममा डेब्यू गरेकी भावना अभिनीत पहिलो फिल्म भने असफल बन्यो । उनी अभिनीत ‘फिरफिरे फिरिरि’ले व्यावसायिक सफलता पाउन सकेन । तैपनि, भावना निराश छैनन् । उनी भन्छिन्, ‘असफलता नै सफलता चढ्ने सिँढी हो ।’

फिल्म असफल भएपनि भावना भने चर्चामा आइन् । हाल मोडलिङसँगै आगामी प्रोजेक्टका लागि स्क्रिप्ट पढिरहेकी भावना भन्छिन्, ‘हिक्मतचाहिँ हार्नु हुन्न ।’ थुप्रै म्युजिक भिडियो र नाटकमा काम गरिसकेकी भावनाले आइटीमा स्नातक गरेकी छिन् । तर, उनी कला क्षेत्रमै आफ्नो पहिचान बनाउन चाहन्छिन् । अभिनेत्री तथा मोड्ल भावना उप्रेतीसँग जम्काभेट :
फिल्म ‘फिरफिरे फिरिरि’मा काम गर्ने अवसर कसरी जुरेको थियो ?
उक्त फिल्मका लागि म अडिसन पास गरेरै गएको हुँ । फिल्मको मुख्य भुमिकाका लागि नायिकाको खोजी भइरहेको रहेछ । फिल्म युनिटका एक सदस्यले मेरो नाटक हेर्नु भएको रहेछ । उहाँकै सल्लाहमा अडिसन दिएँ । अडिसन पास भएपछि कथावस्तु, टिम सबै राम्रो लागेर काम गरेकी हुँ ।
तर, फिल्म त खासै चलेन नि ?
हो, राम्रो फिल्म भएर पनि चलेन । यसमा दुःख लाग्नु स्वाभाविक हो । फिल्म स्तरीय हुँदाहुँदै पनि प्रमोसनको कमिले गर्दा नचलेको हो कि जस्तो लाग्छ । अर्को कुरा, हामी नयाँ अनुहार भएकाले पनि दर्शकले विश्वास नगरेको हो कि ? खासमा प्रोमोशनकै कारण हामी पछि प¥यौँ । किनकि जतिले फिल्म हेर्नुभयो, सबैले मन पराउनुभएको छ ।
यसरी आफ्नो डेब्यू फिल्म नै असफल होला भनेर सोच्नुभएको थियो ?
त्यो त सोच्ने कुरै भएन । काम गर्दा फल पाइन्छ भनेर नै गर्ने हो । काम नै नहेरी आत्ममुल्याङ्कन गर्नु गलत हो । हामी टिम नै मारमा प¥यौँ । हामी नयाँ कलाकारहरूको कामलाई हेरिदिएको भए हौसला मिल्ने थियो ।
डेब्यू फिल्म नै असफल हुँदा असर त पर्यो नि ?
मलाई असर परेको छैन । म मात्र होइन, धेरै कलाकारहरू हुनुहुन्छ । जो पहिलो पटक असफल भएर पनि पछि सफलता हासिल गर्नुभएको छ । त्यसैले अझ राम्रो काम गर्दै जानेछु ।
फिल्म प्रमोसनमा किन कन्जुसाई ?
कुरा पैसा र जनशक्तिकै आउँछ । चिनजान र चलेकै कलाकार तथा मेकरहरूलाई मात्र साथ दिने यहाँ चलन छ । ‘बोल्नेको पिठो बिक्छ’ भनेको सायद यही रहेछ । पुराना र चलेकालाई मात्र साथ दिँदा हामी नयाँ ओझेलमा प¥यौँ ।
अहिलेका दर्शक कस्तो फिल्म हेर्न रुचाउँछन् ?
यो कुरा त भन्नै सकिँदैन । कति गीतको भरमा हलमा छिरेर दश मिनेटमै दर्शक बाहिरिएको पनि देखिएको छ । कोही दर्शक सोच्दै नसोचेको फिल्म हेरेर खुसी भएर निस्कन्छन् । फिल्म चल्न पनि भाग्यमै लेखेको हुनुपर्ने रहेछ ।
‘फिरफिरे फिरफिर’पछि अरू प्रोजेक्टमा अवसर आएको छ कि छैन ?
आइरहेको छ । अहिले केही फिल्मको स्क्रिप्ट पढिरहेकी छु । अब छिटै नयाँ प्रोजेक्टमा काम गर्दै छु ।
थिएटर र फिल्ममा काम गर्दा के फरक पाउनुभयो ?
दुवैको आफ्नै विशेषता छ । थिएटरमा प्रत्यक्ष काम गर्नुपर्छ । त्यसैले बिग्रियो भने गाह्रो पर्छ । तर, फिल्ममा टेक लिइन्छ र मौका पाइन्छ । फरक यति मात्र हो ।
फिल्ममा काम गनुअघि के कुरालाई प्राथमिकता दिनुहुन्छ ?
यही भन्ने नै हुँदैन । कुनै कथा वा स्क्रिप्ट मन परिदिन्छ । कुनै निर्देशक त, कतै टिम मन पर्न सक्छ । कतै साथीभाइको चिनजानको आधारमा पनि काम गरिन्छ ।
पछिल्लो समय फिल्मतिर युवाको आकर्षण बढ्दो देखिन्छ, किन हो ?
अरू विषयमा जसरी पढेर काम गरिन्छ, यो कला पनि यस्तै छ । आर्टस् सम्बन्धित कलेजहरू पनि अहिले धेरै छन् । यो क्षेत्रमा अवसर पाएको खण्डमा करिअर डेभलभ गर्न सहज भएकोले पनि हुन सक्छ ।
तर, यो क्षेत्रमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ नि ?
त्यो त हो नै । यहाँ दिनदिनै नयाँ–नयाँ कलाकारको आगमन भइरहेको छ । सबै स्तरीय भएको कारण पनि प्रतिस्पर्धा पक्कै छ । प्रतिस्पर्धाबिच नै यो भीडमा आ–आफ्नो करिअर बनाउने हो ।
आइटी पढेर फिल्मतिर किन लाग्नुभयो ?
कला क्षेत्र मेरो रुचिको विषय हो । यो क्षेत्रमा लाग्दा सुरुका दिनमा परिवारलाई मनाउन गाह्रो भएको थियो । तर, रुचि र रहरले गर्दा परिवारलाई कन्भिन्स गराएरै यस क्षेत्रमा आएँ । अहिले राम्रै भइरहेको छ ।
एउटी नायिकामा के कस्ता गुण हुनुपर्छ ?
मुख्य कुरा अनुशासन चाहिन्छ । यस क्षेत्रलाई बुझेको र आत्मविश्वास अनि सुन्दर पनि हुनुपर्छ जस्तो लाग्छ ।
तपाईँको भविष्यको योजना के छ ?
यही कला क्षेत्रमा नै काम गर्छु भनेर मन, बचन र कर्मले लागेको छु । कला क्षेत्रबाहेक अरूतिर सोचेकै छैन । यसैलाई निरन्तरता दिने हो ।