Logo
Logo

बृद्धाको भत्ता खाएको भन्दै काठमाडौंका वडाअध्यक्षविरुद्ध कीर्ते मुद्दामा जाहेरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असार ।
कीर्ते हस्तक्षर गरेर आफ्नो भत्ता खाएको भन्दै एक ९६ वर्षिया महिलाले काठमाडौं वडा नम्बर ४ का वडाअध्यक्ष मोहन बिष्टसहित पदाधिकारीविरुद्ध कीर्ते मुद्दामा जाहेरी दिएकी छिन् ।


गिताञ्जली मार्ग बस्ने ९६ वर्षिया चिजमाया लिम्बुले आफ्नो भत्ता अरुलाई दिएको भन्दै उजुरी दिएकी हुन् । सुरुमा उनले प्रहरीमा दिएकोमा प्रहरीले दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालयमा दिइएको छ । गत साता सोही विषयमा वडा कार्यालयमै विवाद भएको थियो ।

बृद्धा आफन्तले उनको बरिष्ठ जेष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि बृद्धालाई नै लिएर उनीहरु सोमबार वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरुले आफ्नो नाममा अरुलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा बृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको थियो । प्रहरीले बृद्धाका नातीहरु सुमन लिम्बु र उनका साथी सुरज गुरुङलाई पक्राउ गरेको थियो । उनीहरु २०– २० हजार धरौटीमा छुटेका छन् ।
बृद्धाको पनि मंगलबार वडा अध्यक्ष बिष्ट, वडा सदस्य दिनेश महर्जन र धुव्र प्रसाद त्रिपाठीविरुद्ध कीर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् ।  राजनीतिक दबाबको कारण महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जाहेरी लिन नमानेपछि पीडित बृद्धा सरकारी वकिल कार्यालय पुगेकी हुन् ।

आफ्नो १२ हजार बृद्ध भत्ता कीर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले अख्तियारमा पनि उजुरी गर्न लागेकी छिन् । वडा कार्यालयले आफुहरु झुक्किएको बताएर मिलाउने प्रयास गरेका छन् । तर, भत्ता माग्न जाँदा विवाद गरेको भन्दै दुई युवकलाई प्रहरी लगाएर थुनाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्