काठमाडौँ । सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको आरोप लगाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले हिम्मत भए शीतल निवास र सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका हुन् । उनले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिट्लरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए । घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् ।’
त्यस्तै, सांसद सिंहले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । उनले भने, ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ ।’