काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेको छ । जुवा अखडाबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा २३ जना भारतीय नागरिकहरू पक्राउ परेका थिए । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गरेको भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको छ । घटनास्थलबाट ८१ हजार नगद बरामद गरिएको छ । पक्राउ परेकाहरू विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।














