काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए। उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्याउन नसक्दा अघि बढ्न नसकेको बताए ।

उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए ।
उनले भने, ‘अहिले स्थिति त्यति सहज हुँदै गइरहेको छैन । सदन शुरु भएको छ। सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन्। तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो। राष्ट्रिय सभामा बहुमत पुर्याउन पनि कठिन छ । राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ। एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’
अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए ।
मधेसी जनताको लागि दुईपटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए ।














