
एजेन्सी । अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको निजी विमान दुर्घटना भएको छ । सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा दुई पाइलट र दुई यात्रु सवार भिन्सको निजी विमान दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका भिन्सका प्रतिनिधि वोरिक रोबिन्सले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनले विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल हुँदा धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएर दुर्घटनामा परेको उल्लेख गरेका छन् ।
उनले दुर्घटनाका बेला भिन्स विमानमा नरहेको बताएका छन् । तर, मृत्यु हुने र घाइतेको संख्या सार्वजनिक गरे पनि हालसम्म नाम खुलाइएको छैन । यसअघि ११ दिनको अवधिमा तीन विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको थियो । गतसाता जनवरी २९ मा राजधानी वासिङ्टन डीसीमा ६७, फ्रेबुअरी १ मा पेन्सिलभेनियामा ७ र फ्रेबुअरी ८ मा अलस्कामा १० जनाको विमान दुर्घटनामा परी मृत्यु भएको थियो ।