Logo
Logo

युक्रेन युद्ध अन्त्यबारे साउदीमा वार्ता, युक्रेनकाे आपत्ति

जेलेन्स्कीले भने- युक्रेनको सहमतिविना गरिएका कुनैपनि निर्णय स्वीकार्य छैन


2.1k
Shares

काठमाडौं । तीन वर्षदेखि युक्रेनमा जारी युद्ध अन्त्यका लागि अमेरिकी र रूसी अधिकारीबीच वार्ता भएको छ । साउदी अरबको रियादस्थित डिरिया प्यालेसमा मंगलबार साउदी अधिकारीहरूसमेत उपस्थित भएको वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।

उक्त बैठकमा युक्रेन भने सहभागी नभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवादमा दुई सातापछि युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिका र रूसबीच छलफल भएको थियो । साउदी अरबलाई छलफलको मुख्य मध्यस्तकर्ता भनिएको छ ।

समाचारमा बताइएअनुसार बैठकमा अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ छन्। साउदीबाट विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल ऐबन थिए भने रूसबाट विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ सहभागी थिए ।

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोक्ने बैठकमा नबोलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले बुधबार साउदी अरब भ्रमण गर्ने भनिएको थियो । बैठकमा युक्रेनलाई समावेश नगरेको भन्दै भ्रमण एक महिना पछि सारेको रोयटर्सले जनाएको छ ।

साथै, युद्धका सम्बन्धमा युक्रेनको सहमति विना गरिएका कुनैपनि निर्णय स्वीकार्य नहुने जेलेन्स्कीले बताएका छन् । यद्यपि, बैठकले कुन कुन विषयमा छलफल ग¥यो र के–के निर्णय ग¥यो भनेर सार्वजनिक भएको छैन । अन्य युरोपेली मुलुकले पनि युक्रेनको प्रत्यक्ष सहभागीता नरहेको बैठकबाट युक्रेनसम्बन्धमा कुनै निर्णय नगर्न चेतावनी दिएका छन् ।

जर्मनका चान्सलर ओलाफ स्कल्जले भने युद्धरत पक्ष सहभागी नभएको बैठकले युक्रेन सम्बन्धमा गरिएका निर्णय मान्य नहुने भनेका छन् । उनले भनेका छन्, ‘युक्रेनको विषयलाई लिएर कुनैपनि निर्णय हुनुहुँदैन ।’

यस्तै, युक्रेनको सहमतिविना कुनै सम्झौता मान्य नहुने भन्ने जेलेन्स्कीको टिप्पणीप्रति ट्रम्पले आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य गर्ने शक्ति मसँग छ र त्यो प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ । जहाँसम्म युक्रनेले आफूलाई नबोलाइएको भनेको छ, उनीहरू तीन वर्षदेखि त्यहीँ छन्, त्यही युद्धमा छन्। उनीहरूले त्यो युद्ध सुरू नै गर्नुहुँदैन थियो, सुरू भएपछि रोक्नका लागि प्रयास गर्नुपथ्र्यो, सम्झौता गर्नुपथ्र्यो ।’

उनले पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्नेबारे भएको कुराकानी जेलेन्स्कीलाई पनि जानकारी गराइएको भनेका थिए । तर, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले त्यो अस्वीकार गरेका छन् । उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको समाचारमा उल्लेख छ ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए । ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुनेछैन भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्