Logo
Logo

‘चित्रकारिता मेरो उर्जा र जीवन चलाउने कर्म’


7.2k
Shares

बुवाले चित्र बनाएको हेर्दाहेदै चित्रकारिताप्रति मोहित बनेकी रजनी सिंख्वाल यतिखेर पौभा चित्रहरु बनाउन व्यस्त छिन् । चित्र कोर्नु उनको दिनचर्या नै बनेको छ । उनी पौभाचित्र बनाउँछिन् । उमेरले २७ लागेकी रजनीले दजनौँ चित्रहरु बनाइसकेकी छन् । अहिले हरेक कला प्रर्दशनीमा उनको चित्रहरु देख्न पाइन्छ । सिर्जना कला केन्द्रबाट ललितकलामा स्नातक तथा लुम्बिनी बिश्वबिद्यालयबाट संग्रालय बिषयमा मास्टर गरेकी रजनी विशेषतः पौभा चित्र तथा प्रिन्टिङमा रुचि राख्छिन् । यिनै चित्रकार रजनी सिंख्वालसँग रेजिना पाण्डेको जम्काभेट ।

चित्रकलाप्रति कसरी आकर्षित हुनुभयो ?
मेरो घरमा बाबाबाहेक काका, मामाहरु पौभा चित्र कोर्नु हुन्थ्यो । हामी जहाँ गएपनि हाम्रो पारिवारिक माहोल रंगसँगै सुरु हुन्थ्यो । पौभा चित्रलाई कसरी अघि लैजान सकिन्छ, यस्ता बिषयमा कुरा भइरहन्थ्यो । उहाँहरुको कुरा र काम गरेको देखेर म यसप्रति आकर्षण हुन्थेँ । उहाँहरुले बनाएका सुन्दर चित्रहरुले मलाई पनि राम्रो चित्र बनाउने रहर लाग्थ्यो । यसैले प्लस–टु सकाएपछि ब्याचलर सिर्जना कलेज आर्टस्मा पँढे । आज यही काम गरिरहेको छु । अहिले मेरो कर्म नै बनेको छ ।

वास्तावमा पौवा पेन्टिङ भनेको के हो ?
नेवारी परम्परामा बुद्धिष्ट र हिन्दु देवताहरुको दशर्न र मुर्तिकलाबारे बुझेर गरिने पेन्टिङलाई पौभा चित्र भनिन्छ । धर्म र समुदायसँग नजिक गाँसिएको भएर यो कला आजसम्म जिवन्त छ । यसको आफनो बैग्लै पहिचन छ । पौभा चित्रको सिर्जना गर्नु भनेको केही सिद्ध प्राप्तिका लागि साधना पनि हो । पौभा चित्र बनाउनका लागि पुर्वीय दर्शन, आध्यात्मिक ज्ञान शिल्पदक्षता र कल्पनाशीलता र धर्मग्रन्थको यथेष्ट ज्ञान चाहिन्छ । वास्तावमा पौभा संस्कृति परम्परागत चित्रभन्दा फरक पर्दैन । नेवारी भाषामा पौभा चित्र मानिने यो चित्र र तिब्बतीयन थांकामा धर्मकलाको फरक–फरक महसुस गर्न सकिन्छ ।

पौभा पेन्टिङको वतर्चमान अवस्था कस्तो छ ?
राम्रो छ । यसका लागि धेरै मिहिनत छ । तर, गर्न सकियो भने राम्रो छ । तर, यो चित्र बनाउनेहरु चाहिँ ओझेलमा छन् ।

पौभा पेन्टिङबाहेक अरु चित्र बनाउन रहर नलागेको कि नबनाएको ?
बाल्यकालदेखि नै बाबा र परिवारले यहि परम्परागत पौभा चित्र बनाएको देखेर म हुर्केकी हुँ । यसप्रति मलाई निकै आकर्षण थियो । अरु पेन्टिङ कोर्न प्रयास गरेपनि पौभा चित्रप्रति मेरो बढी फोकश छ ।

आजभोलि कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्तै छु । यही फागुन २ गतेदेखि १८ गतेसम्म आर्टस् काउन्सिलमा हुन भइरहेको चित्रकला प्रदर्शनीमा म पनि सहभागी छु । जसमा १५ जना महिलाका चित्रहरु प्रर्दशनमा राखिएका छन् । जसमा मेरो पनि पेन्टिङ समावेश छ ।

प्रदर्शनीमा तपाइँका के कस्ता चित्र देख्न सकिन्छ ?
हामीलाई बिषय दिएको थियो । लोककला, समसामायिक मौलिकता, महिला शक्ति र महिलाका बिबिध भुमिकाबारे रहेर चित्र कोर्न भनिएको थियो । मैले कला संस्कृतिमा आधारित महिला शक्तिलाई लिएर पौभा चित्र बनाएर राखेको छु ।

पहिलोपटक कोरेको चित्र याद छ ?
छ, मैले पहिलोचोटी पुर्णकलश बनाएकी थिएँ । जसमा देवीहरु पर्वती, सरस्वती र लक्ष्मीको सिम्वल राखेर बनाएकी थिएँ । जुन चित्र बनाउन मलाई दुई महिना लागेको थियो ।

तपाइँको बुवा सुुन्दर सिंख्वाल पौभा चित्रकारितालाई निरन्तरता दिइरहनुभएको छ । बुवासँग सल्लाह–सुझाव लिनुहुन्छ ?
म काम गर्दा बुवासँग सबै सल्लाह गर्छु किनकि बुवा हामीभन्दा यो क्षेत्रमा धैरे जानेको, देखेको र बुझेको हुनुहुन्छ । बुवा भन्नुहुन्छ– कर्म गर, राम्रो काम गर र फल पाउँछौं ।

तपाइँ र बाबाले बनाउने पौभा चित्रमा के फरक छ ?
समय अनुसार फरक हुन्छ । रंगहरु फरक हुन सक्छन् । सोच फरक हुन सक्छन् । तर हामीले बनाउने पौभा चित्रको सोच भने एउटै हुन्छ ।

तपाइँले बनाउनुभएको चित्र कतिसम्ममा बिक्री गर्नुभएको छ ?
चित्र र चित्रको साइज हेरेर हुन्छ । मेरो पहिलो चित्र करिब दश बर्षअगाडि २० ईन्चको चित्र थियो । त्यो ३० हजारमा बेचेकी थिएँ । महँगोमा चार लाखसम्ममा बेचेकी छु । जुन पेन्टिङ बनाउन नै मलाई नौ महिना लागेको थियो ।

चित्रकारिताबाट आम्दानी कस्तो छ ?
राम्रै छ । बाबा र मेरो कति आफन्तको यहि क्षेत्र नै पेशा बनेको छ । हामी मात्र होइन, चित्र बनाएर जिविका चलाउनेहरु धेरै छन् । यही चित्रबाट नाम र दाम कमाउने धेरै छन् ।

विदेशीले मात्र चित्र किन्छन भनिन्छ नि ?
हो, बिदेशीले बढी किन्छन् । तर, अहिले नेपालीहरुमा पनि चित्रकलाप्रति आकर्षण बढ्दै गएको छ ।

समग्र चित्रकारहरुको अवस्थाचाहिँ कस्तो छ ?
सबै आ–आफनो ठाउँमा राम्रो हुन्छ । यही क्षेत्रमा बषौँदेखि जीवन ज्ञापन गर्नेहरु धेरै छन् । नयाँ पुस्ताको पनि आगमन भइरहेको छ । चित्रकारिता गरेर पनि जीवन चल्ने अवस्था छ । कतिलाई गाह्रो पनि होला । तर, बषौँदेखि यही क्षेत्रमा काम गर्नेहरुको रोजिरोटी बनेको छ चित्रकला ।

तपाइँको लागि चित्र के हो ?
मेरो उर्जा र जीवन चलाउने कर्म हो चित्रकारिता ।

भबिष्यको योजना के छ ?
एउटा सोलो चित्र प्रदर्शन गर्ने र एउटा आर्टस ग्यालरी खोल्ने सोच छ । हेरौँ, भविष्यको कुरा त्यही बेला पूरा होला ।

प्रतिक्रिया दिनुहोस्