Logo
Logo

अभिनेत्री साम्राज्ञीविरुद्ध कलाकार संघमा भुवनको उजुरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार । पछिल्लो समय कलाकारबीच एकअर्कालाई नंग्याउनेक्रम बढेको छ । अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा ‘परिवारवाद’ बहस सुरु भएको छ । बलिउडकर्मीबीच ‘नातावाद’ र ‘परिवारवाद’ आरोपप्रत्यारोप भइरहेका बेला यता नेपाली कलाकार पनि एक अर्कालाई गाली गर्ने नंग्याउने क्रम चल्न थालेको छ ।
यसैक्रममा केही दिनयता अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चल्दै आएको छ । अभिनेत्री शाहले केही दिनअघि ‘जापानमा आयोजित एक अवार्ड कार्यक्रममा भुवनले घिनलाग्दो व्यवहार देखाएको’ भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् । उक्त आरोपको खण्डन गर्दै भुवनले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई झूटा प्रचार नगर्न चेतावनी दिएका छन् ।
अभिनेता भुवनले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ ‘आफूलाई ब्रेक दिन पिताजस्तो व्यक्तिको बारेमा अनर्गल तथा झूटा कुराहरू उल्लेख गरी तपाइँले मेरा बारेमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएकी सामाग्रीको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ अभिनेता केसीले आफ्नो मानप्रतिष्ठामा आघात पुग्ने गरी फेरि भिडियो पोस्ट नगर्न समेत चेतावनी दिएका छन् ।

भुवनले साम्राज्ञीलाई चेतावनी दिँदै लेखेका छन्, ‘मेरो यो सूचनाका बाबजुत तपाईंले यस्ता झूटा लान्छना लगाउने कार्य गरेमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानीसम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंमाथि यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुनबमोजिम सजायको भागिदार गराउनको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा दुःखका साथ जानकारी गराउँछु ।’
साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’को छायाँकनमा क्रममा खाना नपाएको, छाता ओड्न नपाएको जस्ता झूटा कुराहरू चलचित्र रिलिज भएको तीन वर्षपछि उठाएर आफूलाई गालीगलौज गरेको भन्दै आश्चर्य लागेको भुवनले बताएका छन् ।
साथै, भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा समेत निवेदन दिएका छन् ।

बिहीबार उनले ‘छानविन गरि पाउँ’ निवेदन दिएको प्रति फेसबुकमा पोस्ट गरेका छन् । जसमा लेखिएको छ, ‘केही दिनयता देखि सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्ध विभिन्न आक्षेप आरोपहरु लगाइ मनगन्ते र निराधार चरित्रहत्या हुने किसिममा कुरा व्यक्त गरेको देखिएको हुनाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि म संघको आजिवन सदस्य भएको निवेदन गरेको छु ।’ उनले आफ्नो ‘ड्रिम्स’ चलचित्रमा साम्राज्ञीलाई आफूले दुव्र्यव्यवहार नगरेको स्पष्टीकरण दिँदै संघलाई निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भुवनले साम्राज्ञीको लाञ्छनाले आफ्नोमात्र नभएर चलचित्र क्षेत्रकै बदनाम भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्