काठमाडौं । अर्बपति एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलोन मस्कलाई ज्यान मार्ने धम्की दिने अभियुक्त पक्राउ परेका छन् । अभियुक्त इन्डियाना राज्यका निवासी २८ वर्षीय पुरुष रहेको अमेरिकन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

डेभिड एलन जुन चेरी नाम गरेका उनले सामाजिक सञ्जालमार्फत मस्कलाई मार्ने धम्की दिएका थिए । अभियुक्तले समाजिक सञ्जाल एक्समा मस्कलाई हानि पु¥याउने धेरै ग्राफिक्सहरू सेयर गरेका थिए ।
एउटा पोस्टमा उनले लेखेका थिए, ‘तिमी (मस्क) अमेरिकी जनतालाई लुटिरहेका छौँ । हामी तिम्रो आन्द्रा निकाल्नेछौं र तिम्रो लासलाई सडकमा घुमाउनेछौं ।’ धम्कीपछि चेरीको खाता निलम्बन गरिएको छ ।
समाचारमा जनाइएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार र सरकारी दक्षता विभागका प्रमुख रहेका मस्क बुधबार ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा उपस्थित भएका थिए । यस बैठकमा उनले आफूलाई प्राविधिक सहयोगीको रूपमा परिचय दिँदै भनेका थिए, ‘सरकारी कम्प्युटर प्रणाली सुधार गर्न डीओजीई कडा परिश्रम गरिरहेको छ ।’
मस्कले उक्त कामका कारण आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए ।










