काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसले युक्रेनमा गैरकानूनी र अनुचित रूपमा आक्रमण गरेको बताएका छन् । ट्रुडोले आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ । लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उनीहरूको लडाई सबैका लागि महत्वपूर्ण लडाई हो ।’

प्रधानमन्त्री ट्रुडोले क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने पनि बताएका छन् । शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाको भ्रमणमा थिए । त्यहाँ उनी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच रुस–युक्रेन युद्ध र शान्ति सम्झौताको मुद्दामा चर्को बहस भएको थियो । यस विषयमा अहिले विश्वभरका देशहरूबाट प्रतिक्रियाहरू आइरहेका छन् ।
अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन भ्रमण गरेका थिए । तर, ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।
ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरेको प्रयास सरहानीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद भन्नुपर्ने बताएका थिए । त्यसपछि तीनै जनाबीच भनाभन भएको थियो । भनाभनपछि अमेरिका–युक्रेन खनिज सम्झौता असफल भएको छ ।