Logo
Logo

भारतमा एक डिएसपीसहित ८ प्रहरीको हत्या


- दृष्टि न्युज/संवाददाता


कानपुर, १९ असार (एएनआई) । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।
सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका लामो समयदेखि अपराधमा संलग्न रही आएका भनिएका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अपराधी रहेको भन्ने आशंकामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो । तर सोही क्रममा सो घरभित्र रहेको आशंका गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए । गोली लागेर प्रहरीका एक डिएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ । शुक्रबारै बिहान सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो संख्याको प्रहरी घटनास्थलमा पुगेको बताइएको छ ।
उनीहरुले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन् । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्