काठमाडौं । यो कुरा संसारलाई थाहा भइसकेको छ कि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हतपत्त सुट लगाउँदैनन् । अझ भनौँ रुससँगको युद्ध सुरु भएयता उनले एक पटक पनि सुट लगाएका छैनन् ।
जेलेन्स्की प्रायः युक्रेनी प्रतीक भएको स्वेटर लगाउँछन् । उनी संसारका प्रमुख नेताहरूसँगको बैठकहरूमा पनि यही पोशाकमा देखिन्छन् । यस्तै, शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा पनि यस्तै पहिरन लगाएका थिए । अमेरिका–युक्रेन खनिज सम्झौता वार्ताका लागि अमेरिका आएका उनी अनौपचारिक पहिरनमै उपस्थित थिए ।

अमेरिकी राष्ट्रपति कार्यालयमा तिखो बहस सुरु हुनअघि जेलेन्स्कीलाई एक पत्रकारले उनको पहिरनबारे प्रश्न उठाए । बीबीसीले जनाएका अनुसार जेलेन्स्कीको पहिरनलाई लिएर ‘रियल अमेरिकन भ्वाइस’का ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले सोधे, ‘तपाईं सुट किन लगाउनुहुन्न ? के तपाईंसँग सुट छैन ? धेरै अमेरिकीहरू तपाईंले राष्ट्रपति कार्यालयको गरिमाको सम्मान गरिरहनुभएको छैन भन्ने गुनासो गर्छन् ।’
जवाफमा जेलेन्स्कीले भने, ‘म यस्ता कपडा युद्ध सकिएपछि मात्र लगाउनेछु । सायद तपाईंजस्तै केही, सायद अझ राम्रो, वा सायद केही सस्तो कपडा ।’ बीबीले उल्लेख गरेको छ ।
शुक्रबार ह्वाइट हाउसमा भएको वार्तामा ट्रम्प र जेलेन्स्कीबीच चर्को भनाभन चलेको थियो । यसअघि नै दुवै नेताबीचको सम्बन्ध खराब भइसकेको थियो । ट्रम्पले जेलेन्स्कीलाई एक तानाशाह भनेका थिए र युक्रेनले नै रूस–युक्रेन युद्ध सुरु गरेको दाबी गरेका थिए । शुक्रबारको वार्ता असफल भएसँगै नेटोका युरोपेली राष्ट्रहरू र अमेरिकाबीच ठूलो संकटको संकेत गरिरहेको विश्लेषण हुन थालेको छ ।
यो घटनाले सन् १९४९ मा अमेरिका र नेटो सहयोगी राष्ट्रहरूबीचको पारस्परिक रक्षा प्रतिबद्धतामाथि पनि प्रश्न उठेको छ । नेटो सहयोगी राष्ट्रमाथि हुने कुनैपनि आक्रमणलाई तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले अमेरिकामाथि आक्रमणसरह मान्ने वाचा गरेका थिए ।