काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । प्रतिनिधिसभा बैठकअघि विपक्षी दलहरुको बैठक बसेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो । बैठक भर्खरै सुरु भएको छ । माओवादी केन्द्रका उपमहासचिव देवेन्द्र पौडेलका अनुसार सरकारले स्वीकृतिका लागि पेस गर्न लागेको अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बसेको हो ।

सरकारले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।














