
काठमाडौं । पर्वतको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको पहिचान खुलिनसकेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।














