वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको ह्वाइट हाउसमा बहसपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गर्ने घोषणा गरेका छ । त्यसलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पलाई पत्र पठाएका छन् ।

अमेरिकी राष्ट्रपतिले बुधबार अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो भाषणमा जेलेन्स्कीले आफूलाइ पत्र लेखेको उल्लेख गरे । उनले युक्रेनका राष्ट्रपतिबाट एउटा महत्वपूर्ण पत्र प्राप्त गरेको बताउँदै पत्रमा जेलेन्स्कीले रुससँग युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेको सुनाए ।
ट्रम्पले युक्रेन रुसबाट शान्तिको लागि तयार रहेको संकेत पाएको पनि बताए । ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहायता बन्द गरेको एक दिनपछि जेलेन्स्कीको पत्र आएको हो । ट्रम्पले आफ्नो भाषणमा जेलेन्स्कीको पत्र पढ्दै भने, ‘युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको लागि तयार छ । युक्रेनका जनताले भन्दा बढी शान्ति अरू कसैले चाहँदैनन् ।’
‘दिगो शान्ति प्राप्त गर्न म र मेरो टोली राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौं । युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न संयुक्त राज्य अमेरिकाले गरेको कामको हामी साँच्चै कदर गर्छौं’, जेलेन्स्कीको पत्रमा थप भनिएको उनले उल्लेख गरे । साथै, ‘खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा, युक्रेन तपाईंको लागि कुनै पनि समयमा यसमा हस्ताक्षर गर्न तयार रहेको पनि पत्रमा उल्लेख भएको उनले बताए ।
अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको भोलिपल्ट, जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो भेटमा भएको बहसलाई दुर्भाग्यपूर्ण बताएका छन् । साथै, युक्रेन युद्ध अन्त्य गर्न वार्ताको लागि आफू तयार रहेको बताएका छन् ।










