काठमाडौं । एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेको घटनामा केयू डीन कार्यालयले छानबिन समिति बनाएर ५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’को निर्णयले ५ दिनभित्र उपकुलपतिलाई प्रतिवेदन बुझाउने तथा निलम्बनमा परेका कुनैपनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिने निर्णय गरेको हो ।

‘समितिले प्रतिवेदन पेश नगर्दाको अवधिसम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरुलाई शैक्षिक, चिकित्सकीय र एशोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने,’ सूचनामा भनिएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेसँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
काउन्सिलले आइतबार निलम्बित चार चिकित्सकसँग बयान लिइसकेको छ । काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा. विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान थियो । तर, कारबाहीबारे भने निर्णय भएको छैन ।
आवासीय चिकित्सकसमेत रहेकी उनले गत ४ फागुन आत्महत्याको प्रयास गरेकी थिइन् । चिकित्सकले औषधिको ओभरडोज खाएपछि उनलाई मानसिक यातना दिएको खुल्नमा आएको थियो । आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।