काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् । बीबीसीका अनुसार जेलेन्स्कीले उक्त वार्ता महत्वपूर्ण हुने आशा व्यक्त गरेका छन् ।
राष्ट्रपति जेलेन्स्की खाडी देशमा हुने भएकोले यी वार्तामा भाग नलिने जनाएका छन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि ‘ढाँचा’मा छलफल गर्न चाहेको बताएका छन् ।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चकाचर्की बहस भएको थियो । त्यसक्रममा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए । उक्त विवादपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ । साथै, गोप्य जानकारी युक्रेनलाई दिन पनि बन्द गरेको छ ।
युक्रेनी राष्ट्रपतिले उक्त विवादप्रति दुःख व्यक्त गरेका छन् । उनी हाल देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । बिहीबार ट्रम्पले जेलेन्स्कीबाट माफी र कृतज्ञतासहितको पत्र प्राप्त गरेको बताए । जुन पत्र उनले अमेरिकी कंग्रेस बैठकमा पढेर सुनाएका थिए ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत रुसी नियन्त्रणमा छ ।
ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएपछि बेलायतसहित युरोपियन देशहरुले युक्रेनको समर्थन जनाएका छन् । युक्रेनको समर्थनमा युरोपियन लगायतका राष्ट्रहरुले गठबन्धन नै बनाउने तयारी गर्दैछन् । जसको नेतृत्व बेलायतले गर्ने भनिएको छ ।
यसैबेला जेलेन्स्की र ट्रम्पबीच पुनः वार्ता हुने खबर बाहिरिएको हो । यसअघि वार्ता विथोलिएपछि खनिज सम्झौता रद्द भएको छ । अहिले आएर खनिज सम्झौता गर्न जेलेन्स्की पुनः तयार भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । जसले पुनः युक्रेन र अमेरिकाबीचको सम्बन्ध सुध्रिने अपेक्षा समेत गरिएको छ ।