काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउनसमेत चुनौती दिएका छन्।
शुक्रवार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले पूर्वराजालाई यस्तो चुनौती दिएका हुन्।

साथ उनले संसदबाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई अझ बढी नोक्सानतर्फ लैजानु भएको टिप्पणीसमेत गरेका छन्।
‘राजा रहनु बेठिक हो। म फेरि पनि भन्छु तपाईं राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस्। जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस्‚’ उनले भने, ‘राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन। नेपाली जनताले निर्णय गर्ने हो। कुनै वादी भएर पनि टुंगो लाग्दैन।’
उनले अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावनासमेत संसदमै रहेको उनको भनाइ छ।
‘हाम्रो देशको संसदमा २ वटा सदन छन्‚ देशको शक्ति पनि यहीँ छ, भावना पनि यहीँ छ। राम्रो काम गरेपनि नराम्रो काम गरेपनि जनताको प्रतिनिधि संस्था भनेको संघीय संसद नै हो‚’ उनले भने, ‘संसदबाहिर शक्ति खोज्ने काम नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम मात्रै हो।’
उनले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्पराविपरित प्रधानमन्त्रीको पद हत्याउनकै लागि जुनसुकै दलसँग मिल्ने प्रवृत्तिको विकास भएको बताए।














