Logo
Logo

एमाले रसुवाका अध्यक्ष ढकालले किन गरे पार्टी परित्याग ?


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् । ढकालले शनिबार पार्टी परित्यागको घोषणाा गरेका हुन् ।

ढकालले पार्टी सचिव पेम्बा तामाङले चारपटकसम्म सांघातिक आक्रमण गरेको र पार्टी इन्चार्ज प्रेम तामाङ त्यसको मतियार बनेको आरोप लगाउँदै आफूले पार्टी परित्याग गरेको बताएका छन् । शनिबार हिमालय टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

जिल्ला अध्यक्ष निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै ढकाल । (फाइल फोटो)

उनले कुराकानीकै क्रममा भने, ‘आजदेखि म पार्टीको जिल्ला अध्यक्ष, संगठित सदस्यसहित सबै भूमिकाविहीन भएर स्वतन्त्र नागरिक रहेको घोषणा गर्न चाहन्छु ।’

प्रेम तामाङ गत वैशाख ९ गते एमाले प्रवेश गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी २०७४ सालमा रसुवाको प्रदेश १ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनी नयाँ शक्तिबाट चुनाव लडेका थिए ।

एमाले परित्याग गरेका ढकालले भनेका छन्, ‘त्यहाँको पार्टी सचिव जसले, पार्टी अध्यक्षले बैठकको अन्तिममा समापन गर्ने क्रममा सांघातिक आक्रमण गरेको छ । एकपटक होइन, चारपटक, यस्तो आक्रमण कि त्यहाँ दाउरा, चिर्पट भएको भएदेखि त्यसले रूप अर्कै लिन्थ्यो होला । त्यो खालको आक्रमण भएको छ । हेर्दा सामान्य खालको लाग्नसक्छ, एउटा मात्र बैठक होइन, चारवटा बैठकमा ।’ उनले रसुवामा एमालेको तीनमहिने जराकेन्द्रित अभियान रोकिएको पनि बताए ।

पार्टीका नियमित गतिविधिसमेत हुन नसकेको र सचिवले पटकपटक अवरोध गरेको कुरा प्रदेश इन्चार्ज राजन भट्टराई, पूर्वइन्चार्ज गुरू बराल, पूर्व जिल्ला इन्चार्ज सोम मिश्रलाई अवगत भएको पनि उनले बताएका छन् ।

तीन दिनअघि मात्रै पनि पार्टी महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज भट्टराईसँग छलफल भएको र उनीहरूले अध्यक्ष र सचिव मिल भन्नुबाहेक ठोस उत्तर दिन नसकेको उनको भनाइ छ ।

उनले आफ्नो माथिल्लो कमिटी बागमती प्रदेश कमिटी भएको बताउँदै भनेका छन्, ‘मैले राजीनामा दिइरहँदा मेरो राजीनामा स्वीकृत नहुने, तिमीहरू मिलभन्दा अरू कुरै केही नहुने। हामी बिरामी भएर चिकित्सिककहाँ जान्छौं, चिकित्सले यसो धाप मार्दिएपछि बिरामी निको हुँदैन नि ! उहाँहरूले त्यो व्यवहार गर्नुभयो ।’ ढकाल गत वैशाख २५ गते सर्वसम्मत जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । उनी २०७० सालमा रसुवाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्